काठमाडौँ । हरिबोधिनी एकादशीका अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ भने पूजाआजा, भजनकीर्तन र धार्मिक गतिविधिले क्षेत्र झकिझकाउ बनेको छ ।
हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा–अर्चना गर्दै यो पर्व मनाइन्छ ।
आजको दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजका दिन ब्युँझिने जनविश्वास रहँदै आएको छ । त्यसैले यो दिनलाई विष्णु भक्तका लागि अत्यन्त पवित्र मानिन्छ ।

