एमालेको राष्ट्रिय भेलाद्वारा २१ बुँदे प्रस्ताव पारित, लोकतन्त्र फिर्ताका लागि आन्दोलन गर्ने सङ्कल्प

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेलाले लोकतन्त्रको पुनर्बहालीका लागि आन्दोलन गर्ने सङ्कल्पसहित २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको छ।

मङ्सिर २ र ३ गते काठमाडौँमा चलेको भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारी गर्ने तथा आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलनमा उत्रिने निर्णय गरेको हो।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नाराका साथ आयोजित भेलाको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। भेलामा देशभर र प्रवासबाट गरी ३ हजार ४१४ प्रतिनिधि सहभागी थिए।

भेलाले पारित गरेको प्रस्तावमा एमालेले वर्तमान सरकारलाई राजनीतिक प्रतिशोध, मौलिक अधिकार हनन, संवैधानिक संस्थामाथि हस्तक्षेप र स्वेच्छाचारी शासन सञ्चालन गरेको आरोप लगाएको छ। प्रधानमन्त्रीले शपथ लिएको केही घण्टामै पार्टी अध्यक्ष ओलीलाई पक्राउ गरिएको घटनालाई राजनीतिक प्रतिशोधको पराकाष्ठा भन्दै एमालेले त्यसको भत्र्सना गरेको छ।

त्यस्तै, २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न सक्षम न्यायिक आयोग गठन गर्न माग गरेको छ। सरकारले घटनासम्बन्धी प्रतिवेदन लुकाएको र दोषीलाई संरक्षण गरेको एमालेको आरोप छ।

भेलाले संविधान, सङ्घीयता र संवैधानिक संस्थामाथि सरकारले प्रहार गरिरहेको निष्कर्ष निकाल्दै लोकतन्त्र र संविधानको पक्षमा रहेका राजनीतिक दल, नागरिक समाज तथा बौद्धिक समुदायसँग सहकार्यका लागि आह्वान गरेको छ।

राष्ट्रिय स्वाधीनताका विषयमा पनि भेलाले सरकारको ध्यानाकर्षण गराएको छ। प्रधानमन्त्रीको आसन्न भारत भ्रमण नेपालको राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै सीमा समस्या, असमान सन्धि, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, व्यापार घाटा, हवाई प्रवेश बिन्दु र रोकिएका विकास आयोजनाका विषयमा स्पष्ट धारणा राख्न आग्रह गरेको छ।

भेलाले भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल पुनस्र्थापना, राहत वितरण तथा ध्वस्त सडक र पुलको पुनर्निर्माण गर्न सरकारसँग माग गरेको छ। राहत कोषमा १८ अर्ब रुपैयाँभन्दा बढी रकम रहे पनि पीडितले न्यूनतम सुविधा नपाएको भन्दै एमालेले सरकारको आलोचना गरेको छ।

त्यस्तै, जलवायु परिवर्तनबाट सिर्जित विपत्तिको सामना गर्न जलवायु न्यायका पक्षमा आवाज उठाउने, सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी अनुगमन र सडक स्तरोन्नति गर्ने तथा वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।
भेलाले पार्टीभित्र शुद्धीकरण, सुदृढीकरण र एकताको अभियान अघि बढाउने निर्णयसमेत गरेको छ। नेता तथा कार्यकर्तामा देखिएका आर्थिक र आचरणगत विचलन, विलासी जीवनशैली, गुटबन्दी र जनताबाट टाढिने प्रवृत्ति अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

आगामी निर्वाचनमा जनता र कार्यकर्ताको भावना तथा निर्धारित विधिअनुसार उम्मेदवार छनोट गर्ने र पार्टीका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने सङ्कल्प पनि भेलाले गरेको छ।

भेलामा अध्यक्ष ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’, वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प, उपाध्यक्ष रामबहादुर थापाले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प र उपाध्यक्ष विष्णु पौडेलले एमालेले देश र जनताका पक्षमा गरेका कामबारे सम्बोधन गरेका थिए।

महासचिव शंकर पोखरेलले पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीसम्बन्धी प्रशिक्षण दिएका थिए। अध्यक्ष ओलीले पार्टीले बेहोरेको धक्का निर्वाचन परिणामबाट मात्र नभई सरकार अपदस्त भएदेखि नै सुरु भएको बताएका थिए। लोकतन्त्रको पुनर्बहालीका लागि जनताको पुनर्जागरणको नेतृत्व एमालेले गर्ने उनको भनाइ थियो। भेलामा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले समसामयिक प्रस्ताव र सङ्कल्प प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *