काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६०५ ग्राम सुनसहित एक चिनियाँ नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान करिब ११ः४१ बजे दुबईबाट हिमालयन एयरलाइन्सको उडानमार्फत काठमाडौं आएका चिनियाँ नागरिक बिनबिन लीलाई नियमित जाँचका क्रममा नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विमानस्थलको भन्सार क्षेत्रमा रहेको वाक थ्रु गेटमा जाँच गर्ने क्रममा उनले बोकेको ज्याकेटको खल्तीभित्र लुकाएर ल्याएका सुनजस्तो देखिने चारवटा पोका फेला परेका थिए । उक्त पदार्थको कुल तौल १ किलो ६०५ ग्राम रहेको छ ।
उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको उनले बताए ।

