चीन भ्रमणअघि ट्रम्पले मनिलामा क्वाड बैठकमा सहभागी हुने

मनिला । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार फिलिपिन्सको राजधानी मनिला पुगेका छन् । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको शिखर सम्मेलनको समापनतिर हुन लागेको उनको भ्रमणका क्रममा इन्डो–प्यासिफिक क्षेत्रका चार मुलुक सम्मिलित क्वाड समूहका नेताहरूसँग पहिलोपटक बैठक हुनेछ ।

अमेरिका, जापान, अस्ट्रेलिया र भारत सम्मिलित क्वाड समूहको बैठक दुई वर्षपछि हुन लागेको हो । ट्रम्पका लागि यो क्वाड नेताहरूसँगको पहिलो बैठक हुनेछ । उनका पूर्ववर्ती राष्ट्रपति जो बाइडेनले क्वाडलाई आफ्नो विदेश नीतिको महत्वपूर्ण पहलका रूपमा अघि बढाएका थिए ।
ट्रम्पको एसिया भ्रमणमा चीनको सेन्जेनमा आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलन तथा चिनियाँ र रुसी समकक्षीसँग हुने अपेक्षित त्रिपक्षीय भेटवार्ता पनि समावेश छन् ।

अमेरिकामा भएको मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि हुन लागेको उनको यो एसिया भ्रमणलाई चासोका साथ हेरिएको छ । यसैबीच चीनमाथि जासुसीको आरोप र चिनियाँ कम्पनीहरूको एआई चिपमा पहुँच सीमित गर्ने अमेरिकी नयाँ नीतिले दुई देशबीच कायम व्यापार युद्धविराम थप जटिल बन्न सक्ने देखिएको छ ।

ट्रम्पको मनिला भ्रमणका क्रममा विरोध प्रदर्शन हुन सक्ने सम्भावना पनि छ । पछिल्ला केही दिनमा त्यहाँ भएका प्रदर्शनमा ट्रम्पका पुतला जलाइनुका साथै मध्यपूर्वको युद्ध अन्त्य गर्न र अमेरिकाको नेतृत्वमा अघि सारिएको ‘प्याक्स सिलिका’ आपूर्ति शृंखला पहल खारेज गर्न माग गरिएको थियो ।

क्वाड बैठक चीनका राष्ट्रपति सी चिनफिङले आयोजना गर्ने एपेक सम्मेलनअघि हुन लागेको हो । चीनले यसअघि क्वाडलाई बेइजिङलाई घेराबन्दी गर्ने रणनीतिका रूपमा व्याख्या गर्दै आएको छ । तर, क्वाड सदस्य राष्ट्रहरूले भने यो समूह कुनै एक देशविरुद्ध लक्षित नभएको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *