-डा. हुवाङ छन्
सम्माननीय अतिथिज्यूहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरू,
सबैलाई नमस्कार !
नेपालका लागि चिनियाँ चिकित्सा सहायता टोलीको सदस्यका रूपमा हिमालयको दक्षिणी काखमा अवस्थित यस सुन्दर भूमिमा स्वास्थ्य सेवा प्रदान गर्दाका आफ्ना वास्तविक अनुभव र अनुभूतिहरू यहाँहरूसमक्ष साझा गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। जब हामी अग्ला हिमाल र पहाडहरू पार गर्दै नेपाल आइपुग्यौँ, यहाँका मानिसहरूको सरलता, आत्मीयता र दयालु स्वभावले हामीलाई पहिलो भेटमै प्रभावित बनायो। तर, सँगसँगै यहाँको स्वास्थ्य क्षेत्रमा विद्यमान विभिन्न चुनौतीहरू पनि नजिकबाट देख्ने अवसर मिल्यो। विशेषगरी केही दुर्गम क्षेत्रमा स्वास्थ्य उपकरणको अभाव र विशेषज्ञ चिकित्सकको कमी प्रमुख समस्याका रूपमा देखिए।
मैले सेवा प्रदान गरेको चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (बीपीकेएमसीएच) नेपालका प्रमुख क्यान्सर उपचार केन्द्रहरूमध्ये एक हो। यस अस्पतालमा नेपालका विभिन्न क्षेत्रका साथै भारतको उत्तरी भागबाट समेत क्यान्सरका बिरामीहरू उपचारका लागि आउने गर्छन्।
पहाडी तथा दुर्गम क्षेत्रका धेरै नागरिकले अस्पतालसम्म पुग्न लामो र कठिन यात्रा गर्नुपर्ने बाध्यता छ। यातायातको असुविधा र उपचारमा सहज पहुँच नहुँदा कतिपय बिरामी अस्पताल आइपुग्दासम्म रोग जटिल अवस्थामा पुगिसकेको हुन्छ। चिनियाँ चिकित्सकका रूपमा नेपालमा पाइला राख्दा हामीले बिरामीको उपचार र जीवनरक्षाको जिम्मेवारी मात्र बोकेका थिएनौँ, चीन र नेपालबीच पुस्तौँदेखि कायम रहेको परम्परागत मित्रताको सम्बन्धलाई अझ बलियो बनाउने दायित्वसमेत महसुस गरेका थियौँ।
उपचारसँगै जोडिएका केही अविस्मरणीय अनुभव
दैनिक उपचारका क्रममा हामी नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीसँगै अस्पतालका वार्डमा खटिने, केमोथेरापी गर्ने र बहिरङ्ग सेवामार्फत बिरामीको उपचार गर्ने गर्छौँ। यस क्रममा दुर्गम पहाडी क्षेत्रबाट आउने धेरै बिरामीको अवस्था, उनीहरूको आर्थिक कठिनाइ र रोगप्रतिको त्रासले हामीलाई भावुक बनाउने गरेको छ। नेपालको पश्चिमी पहाडी क्षेत्रअन्तर्गत प्युठान जिल्लाको झिमरुक क्षेत्रबाट आएकी एक युवती बिरामीको घटना मेरो मनमा अझै ताजै छ। उनी लिम्फोमा अर्थात् एक प्रकारको रक्त तथा लसिका प्रणालीसम्बन्धी क्यान्सरबाट पीडित थिइन्। लगातार पेट दुख्ने र बान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
शारीरिक अस्वस्थता सुरु भएको करिब एक महिनाभित्रै उनको अवस्था झन् बिग्रँदै गएको थियो। उनले पश्चिम नेपालको एक स्थानीय अस्पतालमा उपचार गराएकी थिइन्। तर, त्यहाँ उपलब्ध सीमित स्रोतसाधनका कारण रोगको निश्चित निदान हुन सकेको थिएन। चिकित्सकहरूले घातक ट्युमर भएको आशङ्का गरेका थिए। स्थानीय अस्पतालमा पेटबाट तरल पदार्थ निकाल्न नलीसमेत राखिएको थियो, तर थप उपचारको स्पष्ट योजना बनाउन कठिन भएको थियो।
बिरामी र उनका श्रीमान् निकै निराश थिए। दिनप्रतिदिन बढ्दै गएको समस्याका कारण सुरुमा खाना खान कठिन भएको थियो भने पछि पानी पिउनसमेत समस्या हुन थालेको थियो। गम्भीर स्वास्थ्य अवस्था र अत्यन्त कमजोर आर्थिक परिस्थितिका बाबजुद अन्तिम आशा बोकेर उनी वर्षायामको कठिन समयमा एक दिन लामो यात्रा गर्दै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आइपुगिन्। उनले यही अस्पताल रोज्नुको कारण चार वर्षअघि आफ्नो गाउँमा चिनियाँ चिकित्सा टोलीले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर थियो।
चिनियाँ चिकित्सा सहायता टोलीको १४औँ टोलीले चार वर्षअघि पश्चिम नेपालका दुर्गम पहाडी क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेको थियो। त्यसबेला स्थानीय नागरिकले चिनियाँ चिकित्सकहरूको सद्भाव र सेवाभाव नजिकबाट अनुभव गरेका थिए। नेपाली स्वास्थ्यकर्मीसँग सहकार्य गर्दै चिनियाँ चिकित्सकहरूको टोलीले निरन्तर सेवा प्रदान गरिरहेको जानकारी पनि उनीहरूसम्म पुगेको थियो।पहिलोपटक ती बिरामीलाई भेट्दा उनी निकै दुब्ली देखिन्थिन्। उनको तौल जम्मा ३८ किलोग्राम थियो। अस्पतालमा गरिएको परीक्षणमा पेटभित्र मुट्ठीको आकारका दुईवटा गाँठा देखिए।
मैले नेपाली सहकर्मीहरूसँग मिलेर बिरामीसँग धैर्यपूर्वक उनको स्वास्थ्य अवस्थाबारे छलफल गरेँ। उपलब्ध स्वास्थ्य सुविधा र उपचारका सम्भावनालाई ध्यानमा राख्दै हामीले संयुक्त रूपमा उपयुक्त केमोथेरापी योजना तयार गर्यौँ। केमोथेरापीको पहिलो चरण पूरा भएपछि नै बिरामीका असहज लक्षणहरू पूर्ण रूपमा कम भए। चार चरणको केमोथेरापी उपचार पूरा हुँदा उनको पेटभित्र रहेका ट्युमरसमेत हराइसकेका थिए।
वास्तवमा, हामीले हरेक दिन यस्ता बिरामीहरू भेट्ने गर्छौँ। उपचारपछि निको भएका कतिपय बिरामी आफ्नै घरबारीमा उत्पादन गरेका फलफूल र तरकारी बोकेर हामीलाई धन्यवाद दिन अस्पताल आउने गर्छन्। उनीहरूको एउटा मुस्कान र आत्मीयतापूर्वक भनिएको एउटा साधारण ‘नमस्ते’ नै हाम्रो कामप्रतिको सबैभन्दा मूल्यवान् सम्मान हो।
उपचार मात्र होइन, दक्ष जनशक्ति उत्पादन पनि हाम्रो उद्देश्य
लामो समयसम्मको चिकित्सकीय अनुभवले मलाई एउटा महत्वपूर्ण कुरा सिकाएको छ। नेपालमा चिकित्सा सहायता प्रदान गर्नु भनेको केही बिरामीको उपचार गरेर फर्किनु मात्र होइन। सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्थानीय स्वास्थ्यकर्मीलाई दक्ष बनाउनु र भविष्यमा पनि निरन्तर सेवा दिन सक्ने सक्षम नेपाली चिकित्सा टोली तयार गर्नु हो।
त्यसैले हामीले दैनिक कामका क्रममा नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रत्यक्ष रूपमा सिकाउने, बिरामीका केसबारे छलफल गर्ने, शल्यक्रियाको प्रदर्शन गर्ने र विभिन्न विषयमा विशेष तालिम प्रदान गर्ने अभ्यासलाई प्राथमिकता दिएका छौँ। विगत करिब एक वर्षमा हामीले ५०० भन्दा बढी नेपाली स्वास्थ्यकर्मीलाई विभिन्न विषयमा तालिम प्रदान गरेका छौँ।
यस अवधिमा चिनियाँ चिकित्सा तथा हाडजोर्नी उपचार पद्धतिअन्तर्गत हड्डी मिलाउने प्रविधि, अल्ट्रासाउन्डको सहायताले मलद्वार र जननेन्द्रियबीचको भागबाट प्रोस्टेटको बायोप्सी गर्ने प्रविधि, एकै शारीरिक अवस्थाबाट तीनवटा साना प्वाल प्रयोग गरी ल्याप्रोस्कोपिक विधिबाट मिर्गौला र युरेटर हटाउने शल्यक्रिया तथा पीआईसीसीको टुप्पोको स्थान पत्ता लगाउन मुटुभित्रको इलेक्ट्रोकार्डियोग्राम प्रयोग गर्ने प्रविधिलगायत करिब १० वटा नयाँ प्रविधि हस्तान्तरण गरेका छौँ।
हाल नेपाली चिकित्सकहरूले पीआईसीसी राख्ने, परम्परागत चिनियाँ चिकित्सा पद्धतिअन्तर्गत सामान्य एक्युपङ्चर गर्ने तथा जडीबुटीजन्य औषधि प्रविष्ट गराउनेलगायतका प्रक्रिया स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने भएका छन्। विशेषज्ञ उपचार प्रविधि, रोग निदान तथा उपचार प्रक्रिया र विभागीय व्यवस्थापनलगायतका क्षेत्रमा नेपाली सहकर्मीसँग मिलेर काम गर्दै उनीहरूको क्षमता क्रमशः अभिवृद्धि गर्ने हाम्रो प्रयास जारी छ। हाम्रो लक्ष्य नेपाली चिकित्सकहरूलाई थप जटिल उपचार प्रक्रिया पनि आत्मनिर्भर भएर सञ्चालन गर्न सक्षम बनाउनु हो।
दुर्गम गाउँ र पहाडसम्म पुगेर स्वास्थ्य सेवा
मैले धेरैपटक चिकित्सा टोली परिचालन गरेर ग्रामीण तथा दुर्गम पहाडी क्षेत्रमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छु। त्यहाँ पुग्ने बाटो निकै कठिन र जोखिमपूर्ण हुन्छ। पहाडी सडकको असहज यात्रा, लामो दूरी र भाषाको अवरोधले कामलाई थप चुनौतीपूर्ण बनाउँछ। तर, प्रत्येक स्वास्थ्य शिविरमा बिहानैदेखि पालो कुरेर बसेका स्थानीय नागरिक र उनीहरूको आँखामा देखिने आशाले हाम्रो कामको महत्व सम्झाइरहन्छ।
हामीले स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै यातायातको सुविधा नभएका दुर्गम क्षेत्रका नागरिकलाई उनीहरूकै नजिक पुगेर उपचार सेवा प्रदान गर्ने प्रयास गरेका छौँ। चार वर्षअघि दुर्गम गाउँमा सञ्चालन गरिएको त्यही स्वास्थ्य शिविरबाट स्थानीय नागरिकमा रोपिएको विश्वास आज ती बिरामीले हजारौँ किलोमिटरको कठिन यात्रा गरेर उपचारका लागि हामीसम्म आइपुग्दा पुनः जीवन्त भएको छ। यो विश्वासको निरन्तरता नै चीन र नेपालबीचको चिकित्सा सहकार्यको सबैभन्दा सरल, आत्मीय र बलियो उदाहरण हो।
नेपालबाट मैले पनि धेरै कुरा सिकेँ
नेपालमा काम गर्ने क्रममा प्राप्त अनुभवले मेरो आफ्नै व्यावसायिक जीवनलाई समेत नयाँ दृष्टिकोण दिएको छ। सीमित स्रोतसाधन भएको अवस्थामा हामीले चिकित्सकीय सीपका आधारभूत पक्षलाई अझ महत्व दिन, स्थानीय परिस्थितिअनुसार उपचार पद्धति अपनाउन र विभिन्न चिकित्सकीय समस्याको समाधानका लागि लचिलो बन्न सिकेका छौँ। सीमित साधनस्रोतका बाबजुद नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले देखाएको व्यावसायिक समर्पण, जिम्मेवारीबोध र निरन्तर सेवाभावले मलाई गहिरो रूपमा प्रभावित र प्रेरित गरेको छ।
जब म चिनियाँ र नेपाली चिकित्सक तथा बिरामीबीचको आपसी विश्वास देख्छु, जब दुवै देशका स्वास्थ्यकर्मीहरू एकजुट भएर कठिन चुनौतीको सामना गरिरहेको देख्छु, तब हामीले गरेको हरेक प्रयास सार्थक भएको महसुस हुन्छ। चीन र नेपाल हिमाल तथा नदीले जोडिएका छिमेकी राष्ट्र हुन्। हिमालय हाम्रो साझा सम्बन्धको प्रतीक हो।
६० वर्षभन्दा लामो समयदेखि चिनियाँ वैदेशिक चिकित्सा सहायता टोलीले आत्मसात् गर्दै आएको ‘कठिनाइसँग नडराउने, निःस्वार्थ भावले समर्पित हुने, जीवनरक्षा गर्ने र घाइते तथा बिरामीको उपचार गर्ने एवं असीमित प्रेमभाव राख्ने’ सेवाको भावना नेपालमा पनि निरन्तर अघि बढिरहेको छ।
हिमालभन्दा अग्लो मानवीय सेवाको भावना
चिकित्सा सेवाको कुनै सीमा हुँदैन। मानवीय प्रेम र सेवाभावले अग्ला हिमालसमेत पार गर्न सक्छ। नेपालमा चिकित्सा सहायता प्रदान गर्दाका यी अनुभव मेरा लागि व्यावसायिक जीवनकै अत्यन्त महत्वपूर्ण र जीवनभर स्मरणीय यात्रामध्ये एक बनेका छन्।
आगामी दिनमा पनि चीन र नेपालबीचको चिकित्सा आदानप्रदान तथा सहकार्यको पुलका रूपमा काम गरिरहने मेरो चाहना छ। नेपाली स्वास्थ्यकर्मीहरूसँगको सहकार्यलाई अझ गहिरो बनाउँदै स्थानीय विशेषज्ञ उपचार क्षमताको विकासमा योगदान पुर्याउने र धेरैभन्दा धेरै नेपाली नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग गर्ने मेरो प्रतिबद्धता छ। सेतो कोटमार्फत चीन र नेपालबीच जोडिएको मित्रता, विश्वास र आत्मीयताको यो सम्बन्ध आगामी दिनमा पनि निरन्तर प्रगाढ बन्दै जाओस् भन्ने कामना गर्दछु।
धन्यवाद !
(हुवाङ नेपालमा रहेको १७ औँ चिनियाँ चिकित्सक टोलीका नेता हुन् । उनले ‘नमस्कार, मेरो चिनियाँ डाक्टर’ वृत्तचित्र प्रदर्शनी कार्यक्रममा व्यक्त गरेको विचार)
