काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले जित हात पारेको छ । आइतबार दिउँसो भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गर्दै कर्णालीले जितसहित प्रतियोगिताको अन्त्य गरेको हो ।
जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा अलआउट हुँदै १ सय २९ रन बनाएको हो । चितवनको लागि उसमा मिरले नटआउट २८, कमिल मिश्रा ले २५, कुशल मल्लले १८, देव खनालले १४ र अशोक धामीले ११ रन बनाए ।
कर्णालीको लागि हुसेन टालटले तीन विकेट लिँदा मार्क वाट र पवन सरार्फले दुई/दुई तथा सोमपाल कामीले एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ थालेको कर्णालीले २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन बनाएको थियो । कर्णालीको लागि हुसैन तलातले अर्धशतक बनाए । उनी ५१ रनमा अविजित रहे । यस्तै, अरिफुल इस्लामले ३५, गुलशन झाले १८ तथा पवन सर्राफले १५ रन जोडे ।
बलिङतर्फ चितवनका कमल सिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले दुई/दुई विकेट लिए भने सिकन्दर रजा र रिजन ढकालले एक–एक सफलता हात पारे ।
जितसँगै कर्णाली ७ खेलबाट ६ अंक जोड्दै छैटौँ स्थानमा रहेर लिगको अन्त्य गरेको छ । समान खेलबाट ७ अंक जोडेको चितवन चौथो स्थानमा रहेर प्लेअफमा पुगेको छ ।
