विदेश भ्रमणमा सांसदको लर्को, रास्वपाभित्रै उठ्यो खर्च र औचित्यमाथि प्रश्न

काठमाडौं । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा विश्वका विभिन्न देशका प्रतिनिधि र विज्ञहरू सहभागी छन् । सम्मेलनमा नेपालबाट पाँच जना मन्त्री सहभागी भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनाल, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, शिक्षामन्त्री सस्मित पोखरेल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र स्वास्थमन्त्री निशा मेहता सम्मेलनमा सहभागी भएका छन् ।

त्यस्तै नेपाली प्रतिनिधिमण्डलमा मन्त्रीसहित राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डा. सञ्जय आचार्य, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलगायत नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी भएका छन् । सम्मेलनको नेतृत्व गर्दै सुरुमा परराष्ट्रमन्त्री खनालको नेतृत्वमा कृषिमन्त्री चौधरी गएकी थिइन् । तर पछि सम्मेलनमा सांसद, मन्त्री र सरकारी अधिकारीको लर्को लाग्यो । सम्मेलनसँग कुनै साइनो नभएका व्यक्ति पनि त्यहाँ पुगेका छन् ।

त्यस्तै रास्वपाका सांसद सागर ढकाल लगायत पनि टर्की पुगेका छन् । त्यस्तै प्रत्येक दलका एकजनाको दरमा ६ जना सांसद सरकारी सूचीमा छन् । अरु सांसद भने वन मन्त्रालयको समन्वयमा आफ्नै तवरमा गएका हुन् । त्यस्तै कुनै सांसद एसियाली महिला सांसद ककसको मलेसियामा भइरहेको कार्यक्रममा सहभागी हुन पुगेका छन् ।

त्यस्तै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका २० जना सांसदको टोली आइतबारदेखि चीन भ्रमणमा जाँदैछ । यसरी सांसदहरु विदेश भ्रमण गएर सामाजिक संजालमा तस्बिर हालेपछि थाहा पाइने भन्दै उनीहरुको भ्रमणको औचित्यमाथि सत्तारुढ रास्वपाका सांसदहरुले नै प्रश्न उठाएका छन् ।  रास्वपाका सांसद गणेश कार्की र आशिका तामाङले नै प्रश्न उठाएका छन् ।

रास्वपाका सांसद गणेश कार्कीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप) मा सहभागी हुन जाने सांसद तथा अन्य व्यक्तिले भ्रमण खर्चको स्रोत सार्वजनिक गर्न माग गरेका छन् । सांसद कार्कीले कोपमा सहभागी हुन दर्जनौँ व्यक्ति व्यक्तिगत खर्चमा वा विभिन्न संस्थाको प्रायोजनमा पुग्ने गरेको उल्लेख गर्दै श्रोत सार्वजनक गर्न माग गरेका हुन् ।वातावरणका विद्यार्थीका लागि कोपमा प्रत्यक्ष सहभागी भएर हेर्न र सिक्न पाउनु महत्वपूर्ण अवसर भए पनि व्यक्तिगत इच्छालाई सरकारी खर्चमा पूरा गर्न नहुने उनको भनाइ छ ।

‘व्यक्तिगत इच्छालाई सरकारी खर्चमा दपेट्न कसैले पनि पाइँदैन,’ उनले लेखेका छन् । यसपटक पनि कोपमा सहभागी हुन जानेहरूको संख्या उल्लेख्य रहेको भन्दै कार्कीले वातावरण विषयका विद्यार्थी र सांसदसमेत टर्की पुगिरहेको तथा पुग्ने क्रममा रहेको बताएका छन् । उनले भनेका छन्, ‘कोपमा जानेहरू दर्जनौँ हुन्छन् । साह्रै धेरै व्यक्तिगत खर्चमा, कुनै संस्थाको प्रायोजनमा कोपमा पुग्छन् । हामी वातावरणका विद्यार्थीहरु कोपकाबारेमा यति धेरै पढ्छौँ कि एकपल्ट गएर हेरौँ भन्ने चैं हुन्छ । देख्न पाइने र सिक्न पाइने कुरा असाध्यै धेरै हुन्छ कोपमा । तर त्यसो भन्दैमा व्यक्तिगत इच्छालाई सरकारी खर्चमा दपेट्न कसैले पनि पाइदैन । अनि अहिलेको समयमा निर्णय वा छलफलको प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने हो भने त नजादैमा देख्न र बुझ्न नपाइने होइन । सँधै झै यसपाली पनि कोपमा जानेहरुको लर्को छ । वातावरणको विद्यार्थी र सांसद पनि भएकाले हो कि धेरै साथीहरु कोपका लागि टर्की पुगेको, पुग्दै गरेको देख्छु । जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिकरूपमा घोषणा गरुन् । गर्नैपर्छ ।’

त्यस्तै रास्वपाकी सांसद आशिका तामाङले राज्यको ढुकुटीबाट सांसदहरूले गर्ने विदेश भ्रमणको पारदर्शिता र औचित्यमाथि प्रश्न उठाएकी छन् । सामाजिक सञ्जालमार्फत उनले सांसदहरूको विदेश भ्रमणबारे प्रश्न उठाउँदै भ्रमणको उद्देश्य, प्रक्रिया र त्यसबाट प्राप्त उपलब्धिबारे जनतालाई जानकारी गराउनुपर्ने बताएकी छन् ।उनले सांसदहरू विभिन्न संसदीय समितिको नाममा विदेश भ्रमणमा जाने गरे पनि आफ्नै समितिका अन्य सदस्यहरूलाई समेत भ्रमणबारे जानकारी नहुने गरेको दाबी गरेकी छन् ।

उनले भनेकी छन्, ‘सांसदहरू आफ्नो समितिबाट विदेश भ्रमणमा सुटुक्क जानुहुन्छ र सुटुक्क आउनुहुन्छ। तर आफ्नै समितिभित्रका सदस्यहरूलाई समेत त्यसबारे जानकारी हुँदैन ।’राज्यको लाखौँ रुपैयाँ खर्च गरेर गरिने यस्ता भ्रमणको उद्देश्य के हो र त्यसबाट जनता तथा संसद्ले के उपलब्धि प्राप्त गर्छन् भन्ने विषय स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

उनले विदेश भ्रमणका क्रममा समुद्री तटमा फोटो खिच्ने र टिकटक बनाउनेबाहेक अन्य उपलब्धि देखिन नसकेको भन्दै सांसदहरूको सामाजिक सञ्जालमा सार्वजनिक हुने गतिविधिमाथि पनि प्रश्न उठाएकी छन् । उनले सांसद तथा राजनीतिक दलका नेताहरूको विदेश भ्रमणको विवरण, उद्देश्य र उपलब्धि सार्वजनिक गर्नुपर्ने माग गरेकी छन्। उनले भनेकी छन्, ‘विदेश भ्रमण केका लागि गइन्छ ? राज्यको लाखौं खर्च गरेर गरिएको विदेश भ्रमण बाट जनता र सांसदले पाउने उपलब्धि के हो ? सोको स्पष्टता जनता सामु आउनु पर्छ होइन भने उही समुद्रको तटस्थलमा गएर फोटो खिच्नु र टिकटक बनाउनु मात्र हो भन्ने कुरा सांसदज्यूहरूको सामाजिक सञ्जालको अपडेटबाट थाहा हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *