बीबीसी हिन्दी । जुलाई २००३ मा सोनिया गान्धी शिमलामा कांग्रेसको एक चिन्तन बैठकको अध्यक्षता गरिरहेकी थिइन्। उक्त बैठक अर्को वर्ष हुने लोकसभा निर्वाचनको तयारीका लागि बोलाइएको थियो । बैठकको वातावरण उत्साहपूर्ण थियो र खुला रूपमा छलफल भइरहेको थियो । अटल बिहारी वाजपेयी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारलाई सत्ताबाट हटाउन क्षेत्रीय दलहरूसँग गठबन्धन आवश्यक पर्न सक्ने निष्कर्षमा कांग्रेस नेतृत्व पुग्न थालेको थियो।
यही क्रममा सोनियाले पार्टीका केही वरिष्ठ नेताहरूबीच आगामी निर्वाचनमा कांग्रेसको नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल भइरहेको थाहा पाइन् । यो कुरा सुनेर उनी आश्चर्यचकित भइन् । उनी पाँच वर्षदेखि कांग्रेस अध्यक्ष थिइन् । उनले देशभर यात्रा गरेकी थिइन्, चुनावी प्रचार गरेकी थिइन्, विपक्षी दलको नेतृत्व गरेकी थिइन् र पार्टीभित्रको दल–बदल तथा लगातार खस्किँदै गएको चुनावी प्रदर्शनका बीच कांग्रेसलाई पुनः उभ्याउने प्रयास गरेकी थिइन्। यति हुँदाहुँदै पनि कांग्रेसभित्रै केही नेताहरूलाई संसदीय निर्वाचनमा पार्टीको नेतृत्व गर्न उनी उपयुक्त व्यक्ति हुन् कि होइनन् भन्ने शंका थियो । एचसीआईले नोभेम्बर १० मा सार्वजनिक गरेको आफ्नो पुस्तक ‘बिलङ्गिङः अ जर्नी अफ लभ’ मा सोनियाले उक्त घटनाले आफूलाई चोट पुगेको उल्लेख गरेकी छन्। राजनीतिक विरोधीहरूले उनको भारतीय पहिचानमाथि प्रश्न उठाउँदै आएका थिए र उनलाई त्यसको बानी परिसकेको थियो। तर आफ्नै सहकर्मीहरूको मनमा पनि त्यस्तो शंका हुनु उनका लागि बिल्कुलै फरक विषय थियो ।
सोनियाले तत्काल प्रतिक्रिया दिइन्। उनी पुस्तकमा लेख्छिन् :
‘मैले आफ्ना एक सहयोगीलाई बोलाएँ र वरिष्ठ नेताहरूको उक्त समूहसम्म सन्देश पुर्याएँ। कांग्रेस अध्यक्षका रूपमा चुनावी अभियानको नेतृत्व गर्नु मेरो कर्तव्य थियो र यसबाट पछि हट्ने मेरो कुनै इच्छा थिएन । अन्ततः जब म सभाकक्षमा पुगेँ र राजनीतिक प्रस्ताव सबैका सामु पढियो, अवस्था स्पष्ट भइसकेको थियो। पार्टीको नेतृत्व मैले नै गर्नेछु र भाजपालाई पराजित गर्न हामी गठबन्धन बनाउन तयार हुनेछौँ।’
यो घटना उनको संस्मरणका सबैभन्दा महत्त्वपूर्ण प्रसंगमध्ये एक हो। यसले अनिच्छापूर्वक राजनीतिमा प्रवेश गरेकी र सत्ताप्रति खासै रुचि नराख्ने महिलाका रूपमा स्थापित सोनिया गान्धीको परिचित छविलाई चुनौती दिन्छ । राजनीतिमा प्रवेश गर्न उनको हिचकिचाहट वास्तविक थियो। तर पदसँग प्राप्त अधिकार प्रयोग गर्ने उनको दृढता पनि उत्तिकै बलियो थियो।
राजनीतिमा आउन नचाहने महिला राजनीतिक जिम्मेवारी स्वीकार गरिसकेपछि भने आफूलाई किनारामा पारिएको हेर्न तयार थिइनन्।
यही विरोधाभास ‘बिलङ्गिङ’ पुस्तकभरि देखिन्छ। यस पुस्तकको सबैभन्दा ठूलो उपलब्धि भनेको निजी जीवनका विषयमा अत्यन्तै सतर्क रहने एक महिला कसरी बलियो राजनीतिक रणनीतिकार बनिन् भन्ने देखाउनु हो । तर पुस्तकको सीमा पनि यहीँ देखिन्छ। सोनियाले आफ्ना भावनाबारे खुलेर लेखेकी छन्, तर आफ्ना राजनीतिक निर्णयका परिणामबारे भने प्रायः त्यति धेरै चर्चा गरेकी छैनन्।
सोनिया गान्धी राजनीतिज्ञ बनेको कथा
सोनियाको राजनीतिक यात्रालाई प्रायः लामो समयसम्म राजनीतिमा आउन हिचकिचाएको कथाका रूपमा प्रस्तुत गरिन्छ । सन् १९८० मा सञ्जय गान्धीको निधनपछि उनले राजीव गान्धीलाई राजनीतिमा आउन विरोध गरेकी थिइन्। सन् १९९१ मा राजीवको हत्यापछि पनि उनले राजनीतिक भूमिका सम्हाल्न पटक–पटक आएका प्रस्ताव अस्वीकार गरिन् । तर कुनै पद सम्हाल्ने इच्छा नहुनुको अर्थ राजनीतिमा उनको रुचि थिएन भन्ने होइन । कांग्रेसमा औपचारिक रूपमा प्रवेश गर्नुभन्दा धेरैअघि नै सोनियाभित्रको राजनीतिज्ञ आकार लिन थालिसकेको थियो।
इन्दिरा गान्धीसँग रहँदा, राजीवसँग यात्रामा जाँदा तथा आपतकाल, बोफोर्स र अयोध्यासम्बन्धी विवादहरू नजिकबाट नियाल्दा उनले भारतीय राजनीतिका भाषा, त्यसको सहज बुझाइ र विरोधाभासहरू आत्मसात् गर्दै गएकी थिइन् । यो प्रक्रिया विस्तारै र लगभग कसैले थाहा नपाउने गरी अघि बढिरहेको थियो। तर अहिले फर्केर हेर्दा त्यसलाई स्पष्ट रूपमा पहिचान गर्न सकिन्छ।
सन् १९९७ मा सोनियामाथि कांग्रेसको नेतृत्व सम्हाल्न दबाब बढ्दै जाँदा उनले भगवद्गीताको सहारा लिइन्। संस्कृतका विद्वान वाचस्पति उपाध्यायले उनलाई गीताको दार्शनिक अर्थ बुझ्न सहयोग गरेका थिए । फलको चिन्ता नगरी आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने धर्मको अवधारणा उनका लागि व्यक्तिगत आशंका र राजनीतिक जिम्मेवारीबीच सन्तुलन कायम गर्ने माध्यम बन्यो । तर त्यसपछि भएका घटनाक्रमलाई केवल कर्तव्यको भावनाले मात्र बुझ्न सकिँदैन ।
कांग्रेसका विभिन्न उतारचढावलाई नजिकबाट नियाल्ने क्रममा मैले धेरैपटक सोनियाको राजनीतिक सुझबुझ उनको सार्वजनिक छविभन्दा निकै तीक्ष्ण रहेको पाएको छु । उनले मानिसका कुरा सुन्ने, विभिन्न दाबीको परीक्षण गर्ने, विश्वासिला सहकर्मी पहिचान गर्ने र आवश्यक पर्दा आफ्ना अडानमा दृढ रहने कला सिकिन्। शिमलाको घटनाले त्यतिबेलासम्म उनी राजनीतिमा आफ्नो स्थान बलियो बनाइसकेको देखाउँछ।
मार्च १९९८ मा सीताराम केसरीको स्थानमा सोनिया गान्धी कांग्रेस अध्यक्ष बन्ने घटनाक्रम यसको अर्को महत्त्वपूर्ण उदाहरण हो । यद्यपि संस्मरणमा यसलाई निकै संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ । सोनियाका अनुसार कांग्रेस कार्यसमितिले नेतृत्व परिवर्तन आवश्यक ठानेको थियो । केसरीलाई पद छाड्न भनियो र त्यसपछि उनी केसरीको घर गइन्। त्यहाँ उनले केसरीको खुट्टा छोएर आशीर्वाद लिइन्।
यो भावनात्मक व्यवहार थियो। तर केसरीलाई पदबाट हटाइएको परिस्थितिबारे यसले खासै जवाफ दिँदैन । उक्त घटनालाई पार्टीभित्र सम्मानजनक व्यवहारबिनै गरिएको सत्ता परिवर्तनका रूपमा व्यापक रूपमा हेरिएको थियो। कांग्रेसका निर्वाचित अध्यक्षलाई कांग्रेस कार्यसमितिको विवादास्पद हस्तक्षेपमार्फत हटाइएको थियो । यस प्रक्रियामा भएको राजनीतिक चलखेलबारे सोनियालाई कति जानकारी थियो ? के उनले यो तरिकालाई स्वीकृति दिएकी थिइन् ? संस्मरणले यी प्रश्नको सन्तोषजनक जवाफ दिँदैन। लोकतान्त्रिक मूल्यप्रति गर्व गर्ने पार्टीका लागि यस घटनाबारे अझ खुला रूपमा चर्चा हुनुपथ्र्यो। केसरीप्रतिको व्यक्तिगत सम्मानले उनी पदबाट हट्नुको पछाडिको राजनीतिक घटनाक्रमलाई व्याख्या गर्न सक्दैन।
‘बाहिरिया’ भनिएकी महिला, जो पछि हट्न तयार थिइनन्
शिमलाको घटनाले सोनियालाई यसअघि भएको त्यस्तै एउटा विद्रोहको सम्झना गराएको हुन सक्छ, जसले उनलाई अझ बढी चोट पुर्याएको थियो । १५ मे १९९९ मा दिल्लीमा कांग्रेस कार्यसमितिको बैठक बसेको थियो। बैठकमा पीए सङ्माले सोनियाको विदेशी जन्मका कारण आम निर्वाचनमा पार्टीलाई नोक्सान पुग्न सक्ने हो कि भन्ने प्रश्न उठाएका थिए । शरद पवारले पार्टीलाई एकताबद्ध गर्न सोनियाले गरेको योगदानको प्रशंसा गरे। तर उनले सोनियाको इटालीमा जन्म भएको विषयलाई लिएर भाजपाले चलाएको अभियानको जवाफ दिन कांग्रेस असफल भएको पनि बताए। तारिक अनवर पनि उक्त असहमतिमा सहभागी भए।
आरके धवनले आक्रोशित हुँदै असहमति जनाउने नेताहरूमाथि भाजपा र आरएसएसको एजेन्डा अघि बढाएको आरोप लगाए। त्यसपछि सोनिया उठेर बैठकबाट बाहिरिइन् । त्यसपछि उनले राजीनामा दिने प्रस्ताव गरिन । उनले आफ्नो जन्म विदेशमा भए पनि भारतलाई आफ्नो घरका रूपमा रोजेको बताइन् । उक्त विद्रोह असफल भयो । पछि पवार, सङ्मा र अनवरले राष्ट्रवादी कांग्रेस पार्टी गठन गरे। चार वर्षपछि शिमलामा त्यही असुरक्षा फेरि देखिएको थियो ।
सोनियाले पुस्तकमा आफ्ना सहकर्मीहरूले आफूलाई चुनावमा पार्टीका लागि नोक्सानदायी ठानेको हुन सक्ने लेखेकी छन्। उनका शब्दले धेरै कुरा बताउँछन्, ‘उनीहरूले अझै पनि मलाई बाहिरिया ठानिरहेका छन् भन्ने सोच्दा मलाई चोट पुग्यो।’ विदेशी मूलको विवाद संस्मरणको सबैभन्दा प्रभावशाली प्रसंगमध्ये एक हो। किनभने यसमा राजनीतिक सफलताले समेत पूर्ण रूपमा निको पार्न नसकेको चोटको अनुभूति हुन्छ।
सोनियाको विवरणले असुरक्षा कसरी दृढ संकल्पमा परिणत हुन सक्छ भन्ने पनि देखाउँछ। उनी आफ्नो जन्म र मूललाई लिएर उठ्ने प्रश्नलाई नेतृत्वमाथिको आफ्नो दाबीभन्दा माथि राख्न चाहँदैनथिन् । सन् २००४ मा प्रधानमन्त्री पद स्वीकार नगर्ने उनको निर्णयले यो विरोधाभासलाई पूर्णता दिन्छ । राहुल र प्रियङ्काको आशंकाले पनि उनको उक्त निर्णयमा प्रभाव पारेको थियो। दुवैले यसअघि नै आफ्नी हजुरआमा र बुबालाई हत्यामा गुमाइसकेका थिए । यति हुँदाहुँदै पनि सोनिया कांग्रेसभित्र निर्विवाद शक्तिकेन्द्र बनिरहिन् र संयुक्त प्रगतिशील गठबन्धन अर्थात् यूपीएको संरचनामा उनको भूमिका अत्यन्तै महत्त्वपूर्ण रह्यो । के कुनै समय सोनियालाई आफ्नै मृत्युको डर लागेको थियो, जसका कारण उनका छोराछोरी यति धेरै चिन्तित थिए ?यसै साता ‘द न्युयोर्क टाइम्स’ लाई दिएको अन्तर्वार्तामा सोनियाले भनेकी छन्, ‘सायद मेरो मनको कुनै कुनामा मलाई वास्तवमै यस्तो भइहाले पनि त्यसको खासै वास्ता थिएन।’
संस्मरणले आफ्नो सीमा कहाँ निर्धारण गर्छ ?
सोनियाले इन्दिरा र राजीव गान्धीको हत्याका घटनाहरू सम्झिँदा पुस्तक सबैभन्दा बढी भावुक बन्छ । उनका सम्झनामा त्यस समयका भावना यति जीवन्त छन्, जति निकै कम राजनीतिक आत्मकथामा देख्न पाइन्छ । राजीवको हत्यापछिको अवस्थाबारे सोनिया लेख्छिन्ः
‘दिनहरू कहिल्यै समाप्त नहुने जस्ता लाग्थे र रातहरू त झन् लामा हुन्थे। शक्तिशाली औषधिको प्रभावले निद्रा लागिहाले पनि म कुनै नराम्रो सपनाबाट ब्युँझिन्थेँ। मेरो शरीर पसिनाले भिजेको हुन्थ्यो, मुटु घाँटीसम्म आएको महसुस हुन्थ्यो र म डराएकी तथा हराएकी हुन्थेँ। प्रियङ्का लगातार मेरो हेरचाह गर्थिन्। कहिले मलाई औषधि दिन्थिन् त कहिले केवल मेरो निगरानी गर्थिन्। राति पनि उनी पटक–पटक उठेर मलाई हेर्थिन्।’
अक्टोबर १९८४ मा इन्दिरा गान्धीको हत्यापछि भएको सिखविरोधी नरसंहारबारे उनको चर्चा भने अझ जटिल छ । सोनियाले ती हत्याको निन्दा गरेकी छन्। सरकारको असफलता स्वीकार गरेकी छन् र केही अधिकारीले जानाजानी आँखा चिम्लिएको वा मानिसहरूलाई उक्साएको हुन सक्ने पनि मानेकी छन् । पीडितहरूले न्याय पाउन निकै लामो समय लागेको कुरा पनि उनले स्वीकार गरेकी छन् । यद्यपि उनले राजीवको दृढतापूर्वक बचाउ गरेकी छन् र उनी यस्ता अत्याचार हुन कहिल्यै दिन सक्दैनथे भनेकी छन्। उनले शान्ति कायम राख्न राजीवले गरेका अपिलहरू सम्झिएकी छन् र सेना परिचालनमा भएको ढिलाइको कारणसमेत उल्लेख गरेकी छन् । यी जानकारी महत्त्वपूर्ण छन्, तर धेरै कठिन प्रश्नको पर्याप्त छानबिन गर्दैनन् । जब राजधानीमै भीडले सिखहरूको हत्या गरिरहेको थियो, त्यतिबेला राजनीतिक नेतृत्वको जिम्मेवारी के थियो ? यसमा संलग्न भएको आरोप लागेका कांग्रेस नेताहरूको अवस्था के भयो ? दशकौँसम्म जवाफदेहिता सुनिश्चित गर्न पार्टी किन असफल भयो ? शाहबानो प्रकरण र राम जन्मभूमि आन्दोलनबारे राजीवले गरेका निर्णयमाथि सोनियाको चर्चामा पनि यस्तै जटिलता देखिन्छ।
मुस्लिम महिलाको अधिकार कमजोर पारिएको विषयमा आफूले राजीवसँग प्रश्न गरेको सोनियाले लेखेकी छन्। तर संविधान र धर्मसँग सम्बन्धित परस्पर विरोधी दाबीबीच सन्तुलन कायम गर्न खोजेको राजीवको स्पष्टीकरणलाई उनले धेरै हदसम्म स्वीकार गरेकी छन् । बाबरी मस्जिद भत्काइएको घटनाको उनले स्पष्ट र सर्तरहित नैतिक निन्दा गरेकी छन् । तर अयोध्या मुद्दालाई लिएर कांग्रेसले अपनाएको आफ्नै विरोधाभासपूर्ण रवैयाको अझ गहिरो समीक्षा हुनुपथ्र्यो । यसमा सन् १९८६ मा बाबरी मस्जिदको ताला खुलाउनेदेखि सन् १९८९ मा शिलान्यास र सन् १९९२ मा नरसिंह रावको प्रतिक्रियासम्मका घटनाक्रम समेटिनुपथ्र्यो।
पार्टीको पतन र एक नेताको विरासत
पुस्तकको एउटा महत्त्वपूर्ण उपलब्धि कांग्रेसका राजनीतिक कठिनाइ र भाजपाको उदयबारे गरिएको विवरण हो । सोनियाले कांग्रेसले आफ्नै संगठनको शक्तिका आधारमा मात्र अब भाजपालाई पराजित गर्न नसक्ने बुझिसकेकी थिइन्। उनले पार्टीलाई गठबन्धन बनाउन हिचकिचाउने प्रवृत्ति त्याग्न तयार पारिन् । यही निर्णयले यूपीए गठनको आधार तयार गर्यो, जसले सन् २००४ मा सत्ता सम्हाल्यो । यस प्रसंगमा संस्मरणले पुस्तौँदेखि प्राप्त राजनीतिक मान्यताको रक्षा गर्ने नेताभन्दा व्यावहारिक रणनीतिकारको तस्बिर प्रस्तुत गर्छ । तर त्यसपछि पार्टी जुन दिशामा अघि बढ्यो, त्यसले सोनियाको नेतृत्वमाथि प्रश्न उठाउँछ । दस वर्षसम्म भारतमा शासन गरेको कांग्रेस सन् २०१४ को लोकसभा निर्वाचनमा कसरी ४४ सिटमा खुम्चियो? पार्टीको संगठनात्मक आधार यति तीव्र गतिमा किन कमजोर भयो ? सोनियाले भाजपाको बलियो चुनावी संयन्त्र, नरेन्द्र मोदीको भाषणकला, सामाजिक सञ्जालमा सञ्चालन गरिएका अभियान र यूपीए–२ विरुद्ध लगातार लगाइएका भ्रष्टाचारका आरोपहरूको चर्चा गरेकी छन्।
मतदाता परिवर्तनको पक्षमा तयार भइसकेको उनले स्वीकार गरेकी छन् । तर उनको स्पष्टीकरणमा कांग्रेस नेतृत्व, संगठन र राजनीतिक संवादका आफ्नै कमजोरीभन्दा भाजपाको शक्ति र कांग्रेसविरुद्ध चलाइएको अभियानलाई बढी जोड दिइएको छ । यही पक्षले ‘बिलङ्गिङ’ लाई सामान्य राजनीतिक आत्मकथाभन्दा फरक बनाउँछ । उदाहरणका लागि, लालकृष्ण आडवाणीको पुस्तक ‘माई कन्ट्री, माई लाइफ’ मुख्यतः राजनीतिक इतिहास हो । त्यसमा लेखक र उनीसँग जोडिएको वैचारिक अभियानलाई भाजपाको विकाससँगै प्रस्तुत गरिएको छ । सोनियाले भने फरक प्रकृतिको पुस्तक प्रस्तुत गरेकी छन्। यो एउटा निजी विवरण हो, जसमा राजनीति परिवार, सम्बन्ध, दुःख र जिम्मेवारीका माध्यमबाट प्रवेश गर्छ।
यही निजीपनले संस्मरणलाई साहित्यिक र भावनात्मक आकर्षण दिएको छ। तर यसैले व्यापक राजनीतिक मूल्याङ्कनका रूपमा यसको महत्त्वलाई सीमित पनि बनाएको छ । कांग्रेसलाई दशकौँसम्म नियालेपछि मेरो विचारमा सोनियाको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि सन् २००४ मा पार्टीलाई पुनः सत्तामा पुर्याउनु मात्र थिएन । उनले गठबन्धन निर्माण, फरक राजनीतिक पक्षहरूलाई सँगै लिएर हिँड्ने र संयम अपनाउने शैली पनि बहुसंख्यकवादी राजनीतिक ध्रुवीकरणको विकल्प हुन सक्छ भन्ने देखाइन्।तर उनको राजनीतिक विरासतमा एउटा असफलतालाई पनि समेट्नुपर्छ। उनी कांग्रेसको संगठनलाई यसरी पुनर्संरचना गर्न असफल भइन् कि पछि बढ्दै गएको भाजपाको राजनीतिक दबदबाको सामना गर्न पार्टी सक्षम हुन सकेन ।
‘बिलङ्गिङ’ पुस्तकको सुरुवात ऋग्वेदका यी पङ्क्तिबाट हुन्छ:
‘सँगै हिँडौँ, सँगै बोलौँ, हाम्रा मन एकमत होऊन्…’
यी पङ्क्तिमा गहिरो विडम्बना छ। संघको परम्परामा पनि परिचित यो आह्वानले साझा उद्देश्यको कुरा गर्छ । यो एक यस्तो नेताको कथाको अप्रत्याशित रूपमा सटीक प्रस्तावना हो, जसले आफ्नो राजनीतिक जीवनको ठूलो हिस्सा विभाजित पार्टीलाई एकजुट राख्ने प्रयासमा बिताइन् । त्यसैले यो पुस्तक सोनियाले बाहिर ल्याएका विषयका कारण मात्र महत्त्वपूर्ण छैन। उनले अनुत्तरित छाडेका प्रश्नहरूले पनि यस पुस्तकबाट धेरै कुरा बुझ्न सकिन्छ । उनी आफ्ना असुरक्षाबारे खुलेर लेख्छिन्, सबैभन्दा नजिकका व्यक्तिहरूको दृढतापूर्वक बचाउ गर्छिन् र आज पनि कांग्रेसलाई समस्यामा पारिरहेका निर्णयहरूको पुनरावलोकन गर्न भने कम इच्छुक देखिन्छिन् । सोनिया गान्धीका लागि कुनै ठाउँलाई आफ्नो ठान्ने यो यात्रा व्यक्तिगत थियो, जुन अन्ततः उनको राजनीतिक कर्तव्यमा परिणत भयो । कांग्रेससामु अहिले चुनौती केवल पार्टीलाई एकजुट राख्ने मात्र छैन। जनताले आफूलाई किन विश्वास गर्ने भन्ने ठोस आधार पुनः स्थापित गर्नु पनि उसको चुनौती हो । यो अधुरो काम पनि सोनियाको विरासतको उत्तिकै महत्त्वपूर्ण हिस्सा हो, जति उनको असाधारण जीवनको कथा उनले यस पुस्तकमा लेखेकी छन्।
