सांसदको विदेश भ्रमणमाथि आशिकाको प्रश्नः राज्यको लाखौँ खर्चको उपलब्धि खोइ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद आशिका तामाङले राज्यको ढुकुटीबाट सांसदहरूले गर्ने विदेश भ्रमणको पारदर्शिता र औचित्यमाथि प्रश्न उठाएकी छन् । सामाजिक सञ्जालमार्फत उनले सांसदहरूको विदेश भ्रमणबारे प्रश्न उठाउँदै भ्रमणको उद्देश्य, प्रक्रिया र त्यसबाट प्राप्त उपलब्धिबारे जनतालाई जानकारी गराउनुपर्ने बताएकी छन् ।

उनले सांसदहरू विभिन्न संसदीय समितिको नाममा विदेश भ्रमणमा जाने गरे पनि आफ्नै समितिका अन्य सदस्यहरूलाई समेत भ्रमणबारे जानकारी नहुने गरेको दाबी गरेकी छन् । उनले भनेकी छन्, ‘सांसदहरू आफ्नो समितिबाट विदेश भ्रमणमा सुटुक्क जानुहुन्छ र सुटुक्क आउनुहुन्छ। तर आफ्नै समितिभित्रका सदस्यहरूलाई समेत त्यसबारे जानकारी हुँदैन ।’

राज्यको लाखौँ रुपैयाँ खर्च गरेर गरिने यस्ता भ्रमणको उद्देश्य के हो र त्यसबाट जनता तथा संसद्ले के उपलब्धि प्राप्त गर्छन् भन्ने विषय स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

उनले विदेश भ्रमणका क्रममा समुद्री तटमा फोटो खिच्ने र टिकटक बनाउनेबाहेक अन्य उपलब्धि देखिन नसकेको भन्दै सांसदहरूको सामाजिक सञ्जालमा सार्वजनिक हुने गतिविधिमाथि पनि प्रश्न उठाएकी छन् ।

सांसद नभई पार्टीको केन्द्रीय सदस्य मात्रै रहेकी एक महिला विदेश भ्रमणबाट फर्किएको भन्ने सुनेपछि आफू थप आश्चर्यमा परेको पनि उनले उल्लेख गरेकी छन् ।

उनले सांसद तथा राजनीतिक दलका नेताहरूको विदेश भ्रमणको विवरण, उद्देश्य र उपलब्धि सार्वजनिक गर्नुपर्ने माग गरेकी छन्। उनले भनेकी छन्, ‘विदेश भ्रमण केका लागि गइन्छ ? राज्यको लाखौं खर्च गरेर गरिएको विदेश भ्रमण बाट जनता र सांसदले पाउने उपलब्धि के हो ? सोको स्पष्टता जनता सामु आउनु पर्छ होइन भने उही समुद्रको तटस्थलमा गएर फोटो खिच्नु र टिकटक बनाउनु मात्र हो भन्ने कुरा सांसदज्यूहरूको सामाजिक सञ्जालको अपडेटबाट थाहा हुन्छ। धन्यवाद !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *