आसाम । भारतको उत्तरपूर्वी राज्य आसाममा शुक्रबार कन्टेनर ट्रक र यात्रुवाहक बस आपसमा ठोक्किँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटना युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत काजिरंगा राष्ट्रिय निकुञ्ज नजिकैको राजमार्गमा भएको हो । उक्त निकुञ्ज एकसिङ्गे गैँडाका लागि प्रसिद्ध छ ।
गोलाघाट जिल्लाका प्रहरी प्रमुख स्वप्ननील डेकाले घटनामा २३ जनाको मृत्यु पुष्टि भएको र सात जनालाई अस्पताल पठाइएको जानकारी दिए । मृतकको संख्या अझै बढ्न सक्ने उनले बताएका छन् ।
उनका अनुसार बसमा करिब ३० जना सवार थिए । आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत व्यवस्थाको अनुगमनका लागि वरिष्ठ मन्त्रीलाई घटनास्थल पठाइएको बताएका छन् । घाइतेहरूको तत्काल प्रभावकारी उपचार सुनिश्चित गर्नु सरकारको पहिलो प्राथमिकता रहेको उनले सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेका छन् ।
