विश्वभरका बौद्ध गुरुहरूको सहभागितामा काठमाडौँमा ड्रुक्पा परिषद् सुरु

काठमाडौँ । काठमाडौँको सितापाइलास्थित ड्रुक अमिताभ माउन्टेन (सेतो गोन्पा) मा ‘११औँ वार्षिक ड्रुक्पा परिषद्’ सुरु भएको छ । शुक्रबार आयोजित एक विशेष समारोहका बीच परिषद्को उद्घाटन सत्र सम्पन्न भएको हो । नोभेम्बर १३ देखि १७ (कात्तिक २७ देखि मंसिर १ गते) सम्म चल्ने यस परिषद्मा विश्वभरका ड्रुक्पा बौद्ध गुरु, भिक्षु, आनी तथा अनुयायीहरूको सहभागिता रहेको छ ।

विश्वव्यापी अनिश्चितताको सामना करुणा, समानता र सम्मानका साथ (Navigating Global Uncertainties with Compassion, Equality and Respect) भन्ने मूल नाराका साथ सुरु भएको पाँच दिने परिषद्मा समसामयिक विश्वका विभिन्न चुनौतीहरूमाथि विमर्श गरिनेछ । विशेषगरी जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको गम्भीर संकट, बढ्दो प्राकृतिक विपद् र वातावरण संरक्षणका विषयमा बौद्ध दर्शन तथा आधुनिक विज्ञान दुवै दृष्टिकोणबाट गहन बहस एवं छलफल हुने आयोजकले जनाएको छ ।

 

उद्घाटन सत्रमा नेपाल बौद्ध महासंघका अध्यक्ष नुर्बु थुण्डु शेर्पा (गेशे थुप्तेन जिन्पा) ले ड्रुक्पा काग्यु परम्पराले नेपालमा जन्मिएका शाक्यमुनि बुद्धका शिक्षाहरूको संरक्षण, संवद्र्धन र विकासमा पु¥याउँदै आएको विशेष योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । अध्यक्ष शेर्पाले नेपालका गोन्पाहरूमा यस परम्पराका गुरुहरूद्वारा प्रदान गरिँदै आएको बौद्ध शिक्षालाई राष्ट्रिय शिक्षाको मूलप्रवाहमा जोड्नुपर्ने आवश्यकता औँल्याए ।

परम्परागत बौद्ध शिक्षालाई व्यवस्थित रूपमा भावी पुस्तामा हस्तान्तरण गर्न राज्यले स्पष्ट कार्यनीति तर्जुमा गर्नुपर्नेमा उनले विशेष जोड दिए । पाँच दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय परिषद्ले हिमाली पर्यावरणको रक्षा र विश्व शान्तिका लागि महत्त्वपूर्ण निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *