भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा कमी हुन नदिन सरकारको निर्देशन

काठमाडौं । सरकारले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको दुर्घटनाको वास्तविक कारण पहिचान गर्न समिति गठन गरिएको जनाएको हो ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले दुर्घटनाको कारण पहिचान गर्नुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्नेछ ।

मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।

दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा रहेको सरकारले जनाएको छ । उनीहरू छठ पर्व मनाउन घर जाँदै थिए ।

घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत घाइतेहरूको स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बीमा कानुनअनुसार घाइतेको उपचार खर्च र मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बीमा रकम यथाशीघ्र उपलब्ध गराउन सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ ।

सरकारले दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *