काठमाडौँ । सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। न्याय परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार न्यायाधीशहरू नियुक्त गरेका हुन् ।
डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी सर्वोच्चको न्यायाधीश नियुक्त भएका हुन् । असोज २० गते बसेको न्याय परिषद्को बैठकले चारैजनालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले कात्तिक २१ गते चारैजनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
