काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुने क्रममा टर्कीको अन्ताल्यामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) टर्कीका अध्यक्ष विनोद पौडेलसँग भएको भेटवार्ता तथा छलफलका क्रममा परराष्ट्रमन्त्री खनालले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
सो अवसरमा एनआरएनए एनसीसी टर्कीका अध्यक्ष पौडेलले परराष्ट्रमन्त्री खनालसमक्ष विभिन्न विषय समेटिएको ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र ग्रहण गर्दै परराष्ट्रमन्त्री खनालले विदेशमा रहेका नेपाली समुदायका समस्या तथा गुनासालाई समयमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले नेपाली नागरिकलाई प्रभावकारी र सहज कन्सुलर सेवा उपलब्ध गराउने, उनीहरूका गुनासा समयमै सुनुवाइ गर्ने तथा विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।
यसैगरी, कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको सहभागिताका क्रममा आवश्यक समन्वय र सहजीकरण गरेकोमा इस्लामावाद, कायरोस्थित नेपाली नियोग तथा एनआरएनए एनसीसी तुर्किएको टोलीलाई परराष्ट्रमन्त्री खनालले धन्यवाद व्यक्त गरेका थिए ।
