रुस–युक्रेन शान्ति वार्तामा युरोपलाई सहभागी गराउने अमेरिकी वाचाको जेलेन्स्कीद्वारा स्वागत

 

बीबीसी । युक्रेनका राष्ट्रपतिले अमेरिकी प्रतिनिधिहरू ज्यारड कुश्नर र स्टीभ विट्कफले रुससँगको आगामी चरणको शान्ति वार्तामा युरोपेली सङ्घलाई सहभागी गराउने प्रतिबद्धता जनाएकोमा त्यसको स्वागत गरेका छन्।

यसै हप्ता युरोपेली नेताहरूले गहिरो सुरक्षा चिन्ताहरू व्यक्त गरेका थिए। र भोलोदिमिर जेलेन्स्कीले युरोपेली सङ्घका प्रतिनिधिहरूलाई वार्तामा सहभागी गराइँदा लेनदेनका क्रममा उनीहरूले पनि आफ्नो ’धारणा’ राख्न सक्ने बताए।

कुश्नर र विट्कफले बिहीवार साँझ जेलेन्स्कीसँग डब्लिनमा भेटवार्ता गरेका थिए। त्यसअघि मस्कोमा उनीहरूले रुसी राष्ट्रपति पुटिनसँग भेटेका थिए जसले युद्धबारेका रुसी दृष्टिकोण र भूगोलबारेको उसको मागमा कुनै परिवर्तन नआएको सुनाएका थिए।

यसअघि आबुधाबीमा भएको छलफल युद्ध अन्त्य गर्ने विषयमा कुनै ठोस निष्कर्षमा नपुगी अन्त्य भएको थियो। तर बिहीवार रुस र युक्रेनबीच बन्दी साटासाटबारे अर्को सम्झौता भएको छ। सन् २०२२ मा रुसले पूर्ण स्तरको अतिक्रमण सुरु गरे यताकै यो सबैभन्दा ठूलो बन्दी साटासाट हुने छ।

कुश्नरले यसले ’हजारौँ व्यक्तिहरूलाई परिवारसँग पुनर्मिलन गराउने’ बताए तर कति बन्दी आदानप्रदान गरिने छन् वा कहिलेसम्म यो प्रक्रियाले पूर्णता पाउने छ जस्ता विस्तृत जानकारीहरू सार्वजनिक गरिएका छैनन्।

जेलेन्स्कीले वर्षौँदेखि शान्ति वार्तामा युरोपेली प्रतिनिधिहरूलाई पनि सहभागी गराइनुपर्ने बताउँदै आएका थिए। उनले किएभको दीर्घकालीन लक्ष्य युरोपेली सङ्घमा आबद्ध रहनु भएकाले पनि त्यस्तो निर्णय लिनु औचित्यपूर्ण रहेको जिकिर गर्दै आएका छन्।

बुधवार कुश्नरले संयुक्त राज्य अमेरिकाले ’पछिल्ला कैयौँ महिनादेखि युरोपसँग असाध्यै घनिष्ठ भएर काम गरेको उल्लेख गर्दै त्यसो गर्नु अत्यन्तै महत्त्वपूर्ण’ रहेको उल्लेख गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *