झापा । मेचीनगर नगरपालिका–७ स्थित दशगजा क्षेत्रमा आज दिनभर १४ वटा जङ्गली हात्तीले आश्रय लिएपछि नेपालतर्फको गाउँमा त्रास फैलिएको छ । हात्तीले आश्रय लिएको दशगजा क्षेत्रको पूर्वतर्फको भारतीय भूभागमा सिसौ र टिकको विरुवा हुर्किएको झाडी छ । नेपालतर्फ सतिघट्टा, मेचीबस्ती, गैरीगाउँलगायतको बाक्लो मानव बस्ती छ ।
आज बिहानैदेखि दशगजा नजिकको झाडीमा साना बच्चासहितको हात्तीको बथान देखिएको प्रत्यक्षदर्शी जीआर धितालले बताए । उनले भने, “ती हात्ती दिनभर त्यहीँ बसेका छन् । यता गाउँ कुनै पनि बेला पस्लान् भन्ने डर भइसक्यो ।
नेपालतर्फको बस्तीमा हात्ती प्रवेश नगरुन् भनेर सशस्त्र प्रहरी बल २ नं गणअन्तर्गतको विभिन्न बीओपी र डिभिजन वन कार्यालय झापाबाट खटिएका सुरक्षाकर्मीले सीमामा सुरक्षा तैनाथी बढाएको डिभिजन वन कार्यालय झापाका निमित्त प्रमुख रामभगत यादवले बताए
भारततिरबाट आएका हात्तीलाई सीमामा रोकिए पनि राति उक्त बथान गाउँ पस्ला भनेर स्थानीयवासीमा त्रास फैलिएको छ । हात्तीले आश्रय लिएको झाडी पूर्वको भारतीय बस्तीमा रहेका १८ परिवारका सदस्यले बिहानैदेखि घर छाडेका छन् । ज्यान जोगाउन घर छाडेका भारतीय बस्तीका बासिन्दामध्ये कोही नेपालतिरका घरमा आश्रय लिएर बसिरहेका छन् भने कोही नेपालको घुमाउरो बाटो भएर भारततिरै गएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाले मेचीनगर–४ को प्रसाद गौडाबाट नेपालतर्फ प्रवेश गर्न लागेको हात्तीको बथानलाई रोक्न बुधबारदेखि नै सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जनाएको थियो ।
मेचीनगर–४ को बाहुनडाँगी सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न नपाएको हात्तीको बथान त्यहाँबाट बाटो बदलेर लगभग पाँच किलोमिटर दक्षिण मेची पुलमुनिबाट मेचीनगर–७ मा स्थानान्तरण भएको छ
भारतीय भूभागबाट हात्ती नेपाल प्रवेश गरेर स्थानीयवासीको घर भत्काउने र पाकेको धान खाने गर्न थालेपछि भारततर्फ हात्ती फर्काउन सुरक्षा सतर्कता उच्च पारिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
हात्तीको प्रवेशलाई पूर्णरूपमा रोक्न र सम्भावित क्षति जोगाउन सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वन रक्षक, र्यापिड रेस्पोन्स टिमलगायत विभिन्न संघसंस्था र स्थानीय किसानहरू सक्रिय भएका छन् ।
