काठमाडौं । नेपालको दोस्रो ठूलो चाड तिहारको उल्लासले देशभर उत्सवमय वातावरण बनाइरहेका बेला नेपाल प्रिमियर लिग (एनपीएल) को रौनकले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई पनि उत्सवस्थल बनाएको छ । भाइटीकाको अघिल्लो दिनसमेत क्रिकेट हेर्न मैदानमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ ।
‘फेस्टिभल अफ हिमालयज’ नाम दिइएको एनपीएललाई दर्शकले साँच्चिकै चाडपर्वकै रूपमा मनाइरहेको दृश्य मैदानमा देख्न सकिन्छ । तिहारको उमंग र क्रिकेटको उत्साह एकै ठाउँमा मिसिँदा त्रिवि क्रिकेट मैदानको माहोल थप आकर्षक बनेको छ ।
मैदानमा क्रिकेटको रोमाञ्चक प्रतिस्पर्धासँगै दर्शकहरू तिहार विशेष देउसी–भैलोका गीतमा रमाइरहेका छन् । सामान्यतया घर–आँगनमा गुञ्जिने देउसी–भैलोका भाका अहिले क्रिकेट मैदानमै गुञ्जिँदा एनपीएलको माहोल थप उल्लासमय बनेको छ ।
यसैबीच, एनपीएलमा सहभागी आठवटै टोलीका मस्कट पनि दर्शकको आकर्षणको केन्द्र बनेका छन् । आ–आफ्नो टोलीको प्रतिनिधित्व गर्ने मस्कटहरूले क्रिकेटसँगै दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेका छन्। उनीहरूको रमाइलो प्रस्तुति र गतिविधिले मैदानको माहोललाई थप जीवन्त बनाएको छ ।
मंगलबार साँझ जारी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको खेलको पहिलो इनिङ्स सकिएपछि सबै आठ टोलीका मस्कट एकैसाथ मैदानमा उत्रिए। उनीहरूले देउसी–भैलो खेल्दै दर्शकलाई मनोरञ्जन प्रदान गरे । सबै टोलीका मस्कट एकै ठाउँमा भेला भएर तिहारको सांस्कृतिक उत्सवमा सहभागी भएको उक्त दृश्य साँच्चिकै आकर्षक र हेर्नलायक थियो ।
यसरी क्रिकेटको प्रतिस्पर्धासँगै नेपाली संस्कृति, परम्परा र चाडपर्वको उल्लासलाई समेत जोड्दै एनपीएलले ‘फेस्टिभल अफ हिमालयाज’ नामलाई सार्थक बनाइरहेको छ ।

