काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले ठेलागाडामा सामान बेचेर जीविकोपार्जन गर्ने व्यक्तिलाई धम्की दिइएको घटनाप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोप्रति प्रतिक्रिया दिँदै शाहीले महानगरको धाकधम्की देखाएर गरिबको रोजीरोटी खोस्न नहुने बताएका हुन् ।
उनले एक सांसदले ठेलागाडामा सामान बोकेर जीविकोपार्जन गरिरहेका व्यक्तिलाई ‘तेरो सामान फालिदिन्छु’ भन्दै धम्क्याएको भिडियो देख्दा आफूलाई दुःख लागेको उल्लेख गरेका छन् ।
शाहीले सबैको जीवन सहज र सुखी नहुने भन्दै ठेलागाडामा सामान बेच्नेहरूका लागि त्यही नै परिवार पाल्ने अन्तिम सहारा हुन सक्ने बताएका छन् । दिनभरि सामान बेचेर कमाएको पैसाले उनीहरूले परिवारको पेट पाल्नुपर्ने र छोराछोरीको आवश्यकता पूरा गर्नुपर्ने उनको भनाइ छ ।
‘व्यवस्थापन गर्नुस्, नियम लागू गर्नुस्, तर गरिबको रोजीरोटी खोस्ने धम्की नदिनुस्,’ शाहीले भनेका छन्, ‘राज्यको शक्ति कमजोर र निमुखा जनतालाई तर्साउन होइन, उनीहरूको जीवन सहज बनाउन प्रयोग हुनुपर्छ।’उनले यो देश अर्कपति, खर्बपति तथा एनजीओ÷आईएनजीओमा काम गर्नेहरूको मात्र नभई गरिब, मजदुर, किसान र निमुखा जनताको पनि भएको टिप्पणी गरेका छन्।
