चितवनलाई हराउँदै काठमाडौं अंकतालिकाको शीर्ष स्थानमा

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा काठमाडौं गोर्खाजले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ । सोमबार बेलुकी सम्पन्न खेलमा चितवन राइनोजलाई १० रनले हराउँदै काठमाडौं लगातार चौथो जितसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रनमात्र बनाउन सक्यो ।  चितवनको लागि रवि बोपाराले अर्धसतक बनाए ।  उनले ३५ बलमा ३ छक्का र २ चौकाको मद्दतमा ५५ रन बनाए ।  यस्तै डान मोउस्लेले २९, कमिल मिश्राले २८, अर्जुन साउदले २३ र कुशल मल्लले १३ रनको योगदान गरे ।

काठमाडौंको लागि सहान अराच्चिगेले दुई विकेट लिँदा जहान्दाद खान, करण केसी, सन्तोष यादव र गणेश गौतमले समान एक/एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । काठमाडौंको लागि रशिद खानले अर्धसतक बनाए । उनले ३० बलमा ४ छक्का र २ चौकाको मद्दतमा ५२ रन बनाए । यस्तै शहान अराच्चिगेले ३३, विलियम बोसिस्टोले २७ र करण केसीले २० रनको योगदान गरे ।

चितवनको लागि रिजन ढकालले तीन तथा कमल सिंह एरी र सिकन्दर राजाले समान दुई/दुई विकेट लिँदा दाङ मोउस्लेले एक विकेट लिए ।

जितसँगै काठमाडौं ५ खेलबाट ८ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिदा समान खेलबाट ५ अंक जोडेको चितवन चौथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *