काठमाडौं । तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बेलुकी ५ बजे शुरु हुनेछ ।
लुम्बिनी आज जित निकाल्दै शीर्ष स्थानमा आफ्नो पकड जमाउन चाहन्छ भने काठमाडौंलाई दोस्रो स्थानमा उक्लिने अवसर रहेको छ । हाल लुम्बिनी ४ खेलबाट ७ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने एक खेल कम खेलेको काठमाडौं ४ अंकको साथ चौथो स्थानमा रहेको छ ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताको शुरुवात गरेको काठमाडौंले दोस्रो खेलमा कर्णाली याक्समाथि ४ विकेट र तेस्रो खेलमा विराटनगर किंग्समाथि ९ विकेटको जित हासिल गरेको थियो ।
यता लुम्बिनी भने आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । लुम्न्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेल वर्षाको कारण रद्द हुँदा चितवन राइनोजसँग अंक बाढेको थियो । यस्तै तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको लुम्बिनीले चौथो खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले हराएको थियो ।
