काठमाडौं । नेपाल चिकित्सक संघले सत्याग्रहमा रहेका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गर्न सरकारसँग माग गरेको छ । अनसन सुरु गरेको आठ दिन बितिसक्दा पनि डा. केसीले उठाएका माग सम्बोधन गर्न सरकारले पहल नगरेको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले डा. केसीको स्वास्थ्यमा जटिल समस्याहरू उत्पन्न भएको उल्लेख गर्दै उहाँसँग अविलम्ब वार्ताको वातावरण मिलाउन र जायज मागहरू तत्काल सम्बोधन गरी समस्याको समाधान खोज्न सरकारसँग जोडदार माग गरेको हो ।
यसैबीच, डा. केसीको अनसनका सम्बन्धमा संघले अपनाउनुपर्ने आगामी कदमबारे छलफल गर्न नेपाल चिकित्सक संघले बैठक आह्वान गरेको छ ।
संघका पूर्वअध्यक्ष, पूर्वमहासचिव, विशेषज्ञ चिकित्सक समाज, अस्पताल निर्देशक, आवासीय चिकित्सक तथा सम्पूर्ण चिकित्सकहरूलाई छलफलमा सहभागी हुन आग्रह गरिएको छ ।संघका अनुसार छलफल कार्यक्रम शुक्रबार दिउँसो १ बजे प्रदर्शनीमार्गस्थित केन्द्रीय कार्यालयमा हुनेछ ।

