प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले हुएस्कालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गर्दा एन्टोनी ग्रिज्मन र ओस्कार मिन्गुएजाले एक/एक गोल गरे । हुएस्काको लागि राफा मिरले गरेको गोल सान्तवनामा सिमित रह्यो । १३ औं मिनेटमा सेर्जियो बुस्केटको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा अगाडि बढाएका थिए । ३५ औं मिनेटमा पेड्रीको पासमा ग्रिज्मनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अतिरिक्त समयमा राफा मिरले पेनाल्टीमा गोल गर्दै हुएस्कालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ५३ औं मिनेटमा मेस्सीको पासमा मिन्गुएन्जाले गोल गर्दै बार्सिलोनालाई फेरि दुई गोलको अग्रता दिलाए । यस्तै ९० औं मिनेटमा ट्रिनेकोको पासमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-१ गोलको सहज जित दिलाए ।
जितसँगै बार्सिलोना २७ खेलमा ५९ अङ्कको साथ दोस्रो स्थानमा छ । समान खेलबाट ६३ अङ्क जोडेको एथ्लेटिको म्याड्रिड शिर्ष स्थानमा रहेको छ ।
