च्याम्पियन्स लिग : पीएसजीको आधा दर्जन गोल, युनाइटेडको पुनरागमन जित

एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मन(पीएसजी) र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । मंगलबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको म्यानचेस्टर युनाइटेड एएस रोमामाथि ३-२ गोलको पुनरागमन जित निकालेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन माथ्युस कुन्हाले दुई गोल गर्दा ब्रुनो फर्नान्डेजले एक गोल गरे । रोमाको लागि माटियास सोले र डोन्यल मलानले समान एक/एक गोल गरे । खेलको ११ औँ मिनेटमा सोलेले गोल गर्दै रोमालाई शुरुवाती अग्रता दिलाएका थिए । १८ औँ मिनेटमा मलानले गोल गर्दै पाहुना टोलीको अग्रता  दोब्बर बनाए ।

५८ औँ मिनेटमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ८३ औँ मिनेटमा कुन्हाले गोल गर्दै घरेलु टोलीलाई २-२ गोलको बराबरीमा ल्याए । तीन मिनेटपछि कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको पुनारागान पूरा गरेका हुन् । इन्जुरी समयमा कुन्हा रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेड ३-२ गोलले विजयी भएको हो । युनाइटेडको नौ खेलपछि यो पहिलो जित हो ।

जितसँगै युनाइटेड ४ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको १७ औँ स्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंक जोडेको रोमा १९ औँ स्थानमा रहेको छ ।

गएरातिनै भएको अर्को खेलमा पीएसजीले भिल्लारियलमाथि ६-० गोलको फराकिलो जित निकालेको हो । पीएसजीलाई जित दिलाउन फाबियन रुइजले दुई गोल गर्दा जोए नेभेस, डेसिर डोए, सन्नी मायुलु र डेभिड बोलीले समान एक/एक गोल गरे ।

जितसँगै पीएसजी ४ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ३ अंक जोडेको भिल्लारियल २९ औँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *