पोखरालाई हराउँदै लुम्बिनी शीर्ष स्थानमा

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति सम्पन्न खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले हराउँदै लुम्बिनी लिगको शीर्ष स्थानमा उक्लिएको हो । पोखराको यो लगातार तेस्रो हार हो ।

जितको लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ११.४ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । लुम्बिनीलाई जित दिलाउन कप्तान रोहित पौडेलले ३२ बलमा ३ चौका र ३ छक्काको मद्दतमा नटआउट ४७ रन बनाए । यस्तै निरोशन डिकवेलाले नटआउट २६ रन बनाउँदा डार्सी शर्टले १३ र आसिफ शेखले ७ रन बनाए ।

पोखराको लागि विपिन खत्रीले एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलबाट टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन बनाएको थियो । पोखराको लागि चमिका करुनारात्ने २५, कप्तान कुशल भुर्तेलले १४, महेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

लुम्बिनीको लागि रुबिन ट्रम्पलम्यानले  ४ ओभरमा १६ रन दिएर ३ विकेट लिए । यस्तै तिलक भण्डारीले दुई तथा शेर मल्ल, अभिशेष गौतम र रोहित पौडेलले समान एक/एक विकेट लिए ।

जितसँगै लुम्बिनी ३ खेलबाट ५ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिदा समान खेलबाट अंकविहीन पोखरा पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *