फुजियानमा आयोजित ‘बेल्ट एन्ड रोड’ मिडिया मञ्चमा १०० देशका २०० भन्दा बढी प्रतिनिधि सहभागी

काठमाडौं । चीनको दक्षिणपूर्वी प्रान्त फुजियानको फुझाउमा बेल्ट एन्ड रोड मिडिया सहकार्य मञ्च आयोजना गरिएको छ । मञ्चमा १०० देश तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनका २०० भन्दा बढी विदेशी प्रतिनिधि सहभागी भएका छन् । त्यस्तै, १८२ वटा सञ्चारमाध्यम तथा संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको छ ।

मञ्चमा विभिन्न देशका सञ्चारमाध्यमले सहकार्य गर्दै सिल्क रोडसँग सम्बन्धित प्रेरणादायी कथाहरू अभिलेख गर्ने र विश्वभर आदानप्रदान गर्ने विषयमा जोड दिएका थिए । साथै, नीतिगत संवाद, जनस्तरको आदानप्रदान र आपसी समझदारी अभिवृद्धि गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्ने सहभागीहरूको धारणा थियो ।

‘बेल्ट एण्ड रोडअन्तर्गत साझा समझदारी र साझा आकांक्षाको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजित मञ्चको संयुक्त आयोजना पिपुल्स डेली र फुजियान प्रान्तीय जनसरकारले गरेका हुन् ।

सन् २०१३ मा राष्ट्रपति सी जिनपिङले संयुक्त रूपमा ‘बेल्ट एन्ड रोड’ निर्माण गर्ने प्रस्ताव अघि सारेयता १३ वर्षको अवधिमा यो पहल अवधारणाबाट कार्यान्वयन र परिकल्पनाबाट वास्तविकतामा रूपान्तरण हुँदै आएको आयोजकले जनाएको छ ।

पिपुल्स डेलीले सन् २०१४ देखि हालसम्म ‘बेल्ट एण्ड रोड’ सम्बन्धी यस्तै खालका नौ वटा सञ्चार सहकार्य मञ्च आयोजना गरिसकेको छ । ती मञ्चले विश्वभरका सञ्चारमाध्यम, उद्यम तथा संस्थाहरूबीच उच्चस्तरीय संवाद र सहकार्यका लागि साझा मञ्च प्रदान गर्दै आएका छन् ।

मञ्चमा सहभागी विभिन्न देशका सञ्चारमाध्यमका प्रतिनिधिहरूले दुई दिन विभिन्न सेसनमा आ–आफ्ना अनुभव र दृष्टिकोण आदानप्रदान गर्नेछन् । उनीहरुले सो क्षेत्रका साझा चुनौतीहरूको पहिचान, समाधानको खोजी तथा आपसी सहकार्य र साझा विकासका विषयमा यसअघि झैँ यस पटक पनि छलफल गर्ने बताइएको छ ।

विश्वका विभिन्न देशका सञ्चारमाध्यम तथा सम्बन्धित संस्थाहरूलाई एकै ठाउँमा ल्याएर सामूहिक प्रयास र सहकार्यलाई सुदृढ बनाउनु मञ्चको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा आज सिल्क रोड ग्लोबल न्युज अवाड्र्स प्रदान गरिएका विजेताहरुको सामाग्री प्रस्तुत गरिनेछ भने भोलि सिल्क रोड सभ्यता विकास फोरमबारे विचार विमर्श गरिने छ । त्यस्तै, १२ औं एसिएन प्लस थ्री मिडिया कोअपरेसन फोरमबारे पनि सहभागीहरुले धारणा राख्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *