-जनकराज पाठक ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मनरोडक्ट्रिन गलत छ । नेपालको भूराजनीतिक अवस्थालाई बुझ्नु र कुनै शक्तिशाली छिमेकीको प्रभाव क्षेत्र स्वीकार गर्नु दुई फरक कुरा हुन् । अर्थशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान राख्ने व्यक्तिले पनि राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको विषयमा गलत निष्कर्ष निकाल्न सक्ने रहेछ । स्वर्णिम वाग्लेको मनरोडक्ट्रिन सम्बन्धी अभिव्यक्ति यही दृष्टिकोणबाट आलोचनायोग्य छ, स्वीकार्य छैन।
सन् १८२३ मा अमेरिकी राष्ट्रपति जेम्स मनरोले अघि सारेको मनरोडक्ट्रिनको मूल उद्देश्य अमेरिकी महादेशमा युरोपेली शक्तिहरूको राजनीतिक तथा औपनिवेशिक हस्तक्षेप रोक्नु थियो । तर कालान्तरमा यही सिद्धान्तलाई अमेरिकाले आफ्नो प्रभाव क्षेत्र विस्तार गर्ने र अन्य देशमाथि विशेष रणनीतिक प्रभुत्व कायम गर्ने आधारका रूपमा समेत प्रयोग गर्यो । यसलाई दक्षिण एसियामा लागू गर्ने वा भारतलाई यस क्षेत्रको स्वाभाविक प्रभुत्वशाली शक्ति मानेर अन्य मुलुकले त्यसअनुसार आफ्नो नीति बनाउनुपर्छ भन्ने स्वर्णिम वाग्लेको तर्क स्वीकार्य हुन सक्दैन ।
भारत र चीन दुई बिशाल राष्ट्रको बीचमा रहेको नेपाल स्वतन्त्र, सार्वभौम र स्वाभिमानी मुलुक हो । भारत ठूलो र शक्तिशाली छ भन्दैमा नेपालको परराष्ट्र नीति भारतको रणनीतिक स्वार्थअनुकूल हुनुपर्छ भन्ने सोच राख्नु राष्ट्रिय स्वाधीनताको मर्मविपरीत हुन्छ।राष्ट्र हित विपरीत हुन्छ । के भारतको सुरक्षा चासो नेपालको राष्ट्रिय हितभन्दा माथि हुन सक्छ ? के चीनसँग नेपालको आर्थिक, व्यापारिक वा विकास साझेदारी गर्ने अधिकार भारतको रणनीतिक प्राथमिकताले निर्धारण गर्न सक्छ ? किमार्थ सक्दैन ।
त्यसैगरी भारतसँग सम्बन्ध विस्तार गर्दा चीनको स्वीकृति लिनुपर्ने अवस्था पनि नेपाललाई स्वीकार्य हुन सक्दैन । नेपालको सम्बन्ध दुवै छिमेकीसँग पारस्परिक सम्मान, समानता र राष्ट्रिय हितका आधारमा अघि बढ्नुपर्छ भन्ने वस्तुगत तथ्यलाई भुल्न हुँदैन । हामीले भारतसँग शत्रुता खोजेका होइनौँ तर मित्रता र अधिनता एउटै कुरा होइन । सीमा अतिक्रमण, असमान सन्धि, डुबान, व्यापारिक अवरोध वा नेपालको आन्तरिक मामिलामा हुने हस्तक्षेपको विरोध गर्नु भारतविरोधी हुनु होइन।यो त राष्ट्रिय स्वाभिमान संग जोडिएको विषय हो। आफ्नो राष्ट्रिय हितको पक्षमा उभिनु हो।
यस्तो संवेदनशील अवधारणालाई दक्षिण एसियाको सन्दर्भमा प्रस्तुत गर्दा त्यसले नेपालको स्वतन्त्र निर्णय क्षमतामाथि प्रश्न उठाउने सम्भावना रहन्छ भन्ने हेक्का वाग्लेजीमा किन नभएको ? नेपाल कुनै शक्ति राष्ट्रको प्रभाव क्षेत्र होइन र प्रभावमा पर्दैन पनि, नेपाल कसैको सुरक्षा छाता खोजेर आफ्नो अस्तित्व परिभाषित गर्ने मुलुक पनि होइन।हाम्रो इतिहास र हाम्रो विरासत ले हामीलाई यसो गर्न पनि दिँदैन ।
हामी भारतविरोधी कदापि होइनौँ, चीनविरोधी पनि हुँदै होइनौँ र अमेरिका विरोधी पनि होइनौँ । अर्थात् हाम्रो सम्बन्ध सबैसँग मित्रतापूर्ण रहनेछ । हामी नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्वाभिमानको पक्षमा छौँ । कूटनीति भनेको शक्तिशाली राष्ट्रको इच्छालाई आफ्नो राष्ट्रिय नीति बनाउनु होइन, शक्तिशाली राष्ट्रसँग पनि आफ्नो राष्ट्रिय हित र स्वाधीनता सुरक्षित राख्न सक्नु हो । स्वर्णिम वाग्लेको बौद्धिकता यहाँनिर स्खलित भएको छ। उनले शक्तिराष्ट्रको प्रभाव क्षेत्रको व्याख्या होइन, नेपालको स्वतन्त्र अस्तित्व र राष्ट्रिय स्वार्थको दृढ पैरवी गर्नु पर्ने हो । भूगोलले हामीलाई दुई ठूला छिमेकी दिएको छ, तर नेपालको भविष्य र राष्ट्रिय नीति निर्धारण गर्ने अधिकार नेपाली जनताकै हो । मित्रता स्वीकार्य छ, प्रभुत्व स्वीकार्य छैन। सहकार्य आवश्यक छ, सार्वभौमिकतामाथिको सम्झौता स्वीकार्य छैन।
