डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरबाट सकुशल उद्धार

दुनै । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको छ।

जिल्ला प्रशासन कार्यालय डोल्पाकाअनुसार कात्तिक १४ गते शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना भारतीय पर्यटक फसेको जानकारी प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उद्धारका लागि आवश्यक समन्वय गरिएको थियो।

उद्धारका लागि कात्तिक १५ गते सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भए पनि प्राविधिक समस्याका कारण उडान हुन सकेन। त्यस्तै, सिम्रिक एयरको हेलिकप्टरसँग समेत समन्वय गरिएकोमा प्राविधिक समस्या देखिएपछि उद्धार कार्य रोकिएको थियो।

आज बिहान ७ः२० बजे पोखराबाट आएको सिम्रिक एयरको हेलिकप्टर डोल्पाको दुनैमा अवतरण गरेको थियो। त्यसपछि बिहान ७ः३५ बजे उद्धारका लागि शे–फोक्सुण्डो गाउँपालिका–५ स्थित दानिगढतर्फ उडेको हेलिकप्टरले बिहान ९ः२५ बजे ६ जना पर्यटकको सकुशल उद्धार गरेको हो।

उद्धार गरिएकामा भारतको पश्चिम बंगाल हाउडाकी ३४ वर्षीया प्याली कोली, साउथ २४ परगनाकी ३५ वर्षीया मोमिता हल्दार र २४ वर्षीया दिपलिना विश्वास रहेका छन्।

त्यस्तै, आन्ध्र प्रदेशका २८ वर्षीय जजला त्रिवेत कुमार, साउथ २४ परगनाका ३२ वर्षीय राजेश देव र नर्थ २४ परगनाका ३२ वर्षीय आदित्य सिंहको पनि उद्धार गरिएको छ । उद्धारपछि सबैलाई जिल्ला अस्पताल दुनै ल्याइएको थियो। अस्पतालमा सामान्य उपचारपछि उनीहरूलाई डिस्चार्ज गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *