रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी पूर्ववकिल अलिना हब्बा मिल्डनले अमेरिकी न्याय विभागमा कार्यरत रहँदा आफूलाई ५ करोड डलरको सम्झौता दिलाउनु अस्वीकार्य भएको बताएका छन् । फ्लोरिडाको पाम बिचस्थित आफ्नो मार–ए–लागो क्लबमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले उक्त सम्झौतालाई ‘पूर्ण रूपमा आपत्तिजनक र आक्रोशजनक’ भन्दै स्वीकार गर्न नसकिने बताएका हुन् ।
द न्युयोर्क टाइम्सले गत साता प्रकाशित गरेको समाचारअनुसार, अमेरिकामा घुसखोरीसम्बन्धी गम्भीर आपराधिक अभियोग सामना गरेका भेनेजुएलाका बैंकर जुलियो हेरेरा भेलुटिनीको परिवारले हब्बालाई चार वर्षमा ५ करोड डलरभन्दा बढी रकम उपलब्ध गराउने प्रत्याभूति दिएको थियो । अगस्ट २०२५ मा अभियोगसम्बन्धी सम्झौता गर्नुअघि उनीमाथि उक्त मुद्दा चलिरहेको थियो । समाचारअनुसार सम्झौतामा वार्षिक एक करोड डलर र अतिरिक्त बोनसको व्यवस्था थियो ।
ट्रम्पले आफूले हब्बालाई उक्त रकम नलिन भनेको र यो घटनालाई ‘भयानक’ मानेको बताए । द न्युयोर्क टाइम्सका अनुसार, हब्बा न्युजर्सीमा अमेरिकी महान्यायाधिवक्ताको कार्यालयअन्तर्गत कार्यवाहक अमेरिकी वकिलका रूपमा कार्यरत रहँदा हेरेराको परिवारको कम्पनी कन्कर्ड पार्टनर्ससँग सम्झौतामा हस्ताक्षर गरेकी थिइन् । उक्त कम्पनी सन् २०२५ को अक्टोबर अन्त्यतिर दर्ता भएको केही दिनपछि सम्झौता गरिएको समाचारमा उल्लेख छ ।
हब्बाले हेरेरा परिवारसँग काम सुरु गर्नुअघि नै अदालतले उनलाई अमेरिकी वकिलका रूपमा काम गर्न अयोग्य ठहर गरेको थियो । उनले डिसेम्बर ८ मा पदबाट राजीनामा दिएकी थिइन् र सोही दिन महान्यायाधिवक्ताको वरिष्ठ सल्लाहकार नियुक्त भएकी थिइन् । द न्युयोर्क टाइम्सका अनुसार, उनले जनवरी १ मा कन्कर्ड पार्टनर्समा काम सुरु गर्दा पनि उनी उक्त सल्लाहकार पदमै थिइन् ।
अमेरिकी न्याय विभागको वेबसाइटअनुसार, ट्रम्पले जनवरी १५, २०२६ मा हेरेरालाई राष्ट्रपतीय क्षमादान दिएका थिए । हब्बाले भने गत साता आफूले क्षमादानका लागि कुनै रकम नलिएको, क्षमादानबारे ह्वाइट हाउस वा न्याय विभागका कसैसँग भेट नगरेको र कसैलाई क्षमादान दिलाउन कुनै काम नगरेको बताएकी थिइन् । यस विषयमा टिप्पणी माग्दा अमेरिकी न्याय विभागले तत्काल प्रतिक्रिया दिएको छैन ।
