काठमाडौं । भगवान् गौतम बुद्ध तुषित देवलोकबाट पृथ्वीमा अवतरण भएको पावन दिनको स्मरणमा आइतबार काठमाडौंको बौद्धनाथ स्तूप परिसरमा देवावतरण महोत्सव (ल्हाबाब दुछेन) मनाइने भएको छ ।
बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा कार्तिक आइतबार दिउँसो १ बजेदेखि विशेष धार्मिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।
महोत्सवका अवसरमा नेपालका बाढीपीडित तथा विश्वभरका हिंसापीडितको शान्ति, सुख, समृद्धि र कल्याणको कामनासहित सामूहिक प्रार्थना (प्राणीधन मोन्लम) गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी, परम पूजनीय विद्याधर आचार्य महायोगी श्री श्रीधर राणा रिन्पोछेबाट धर्मदेशना तथा दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिनेछ ।
आयोजक समितिले धार्मिक कार्यक्रममा सहभागी भई पुण्य सञ्चय गर्न तथा कार्यक्रमको गरिमा बढाउन सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मानुरागी र शुभेच्छुकलाई उपस्थितिका लागि आग्रह गरेको छ ।
देवावतरण महोत्सव (ल्हाबाब दुछेन)काे बारेमा बुझ्न याे भिडियाे उपयाेगी हुने छ ।
