-नारायणकाजी श्रेष्ठ ।
‘इनम सापकोटा’ प्रकरण एउटा सामान्य घटना मात्र नभएर नेपालको राज्य र सामाजिक चरित्रको एउटा प्रतीकात्मक प्रवृत्तिगत प्रतिबिम्ब हो । नेपालको ऐतिहासिक राजनीतिक परिवर्तन लोकतान्त्रिकरणको सन्दर्भमा एउटा गुणात्मक फड्को भएपनि राज्यको सबै संयन्त्रहरुको तदनुरूप लोकतान्त्रिक रुपान्तरण हुन सकेको थिएन । मूलतःसामन्तवादको अन्त्य भएको भएपनि नेपाली पूँजीवादीकरणको प्रक्रियामा राष्ट्रिय पुँजीको सट्टा दलाल पुँजीवादले प्रभुत्वशाली भूमिका ओगट्यो।यो नेपालको सन्दर्भमा मात्र सत्य नभएर भुमण्डलिकृत वित्तीय पूँजीवाद मूल प्रवृत्ति बनेको अहिलेको विश्वमा सामन्तवादको अन्त्य गरी पूँजीवादीकरणको प्रक्रियामा अघि बढेका सबै मुलुक वा समाजहरुका सन्दर्भमा सत्य हो ।
यसका अतिरिक्त नेपालमा लोकतान्त्रिक क्रान्ति सम्पन्न हुँदा राज्यका प्रमुख अङ्गहरू सेना, न्यायालय र कर्मचारीतन्त्रको ठोस रुपान्तरण हुन सकेको थिएन । यसरी राज्य र समाज मूलतः दलाल पूँजीवादी र राज्यका प्रमुख अङ्गहरू परमपरागत यथास्थिति चरित्रको रह्यो । राजनीतिक परिवर्तन र त्यसलाई संस्थागत गरिएको संविधानलाई आधार बनाउँदै परिवर्तनका लागि लड्ने राजनीतिक पार्टीहरू र त्यसपछि बनेका तिनका सरकारहरूले राष्ट्रिय पुँजीको विकास र राज्यको समग्र लोकतान्त्रीकरण प्रक्रियाको नेतृत्व गर्नु आवश्यक थियो ।
क्रान्तिकारी तथा लोकतान्त्रिक संघर्षको नेतृत्व गरेका स्थापित राजनीतिक शक्तिहरू र तिनका सरकारहरूले यो मूल कार्यभार लाई पूरा गर्न सकेन, अझ वस्तुतः यसलाई केन्द्रमा नै राख्छ सकेन र आफूलाई नै त्यसबाट प्रदूषित बनाउन पुगे ।यस पृष्ठभूमिमा नै राज्य र समाजमा त्यो प्रवृत्ति हावी भइरहने स्थिति बन्यो । त्यसलाई आधार बनाएर नै भूराजनीतिक रणनीतिक खेलको अंगको रुपमा दक्षिणपन्थी पपुलिस्ट शक्तिहरुको सरकार सहितको वर्तमान राजनीतिक परिस्थिति पैदा भएको छ ।
त्यसैले समग्रमा संविधानले निर्देश गरे अनुसार समाजवादउन्मुख दिशामा नगइकन दलाल पूँजीवादको अन्त्य र राष्ट्रिय पुँजीको विकास हुन सक्दैन । पछिल्ला घटनाहरूले राज्यका अंगहरु कति दलालिकृत छन् भन्ने कुरा स्पष्ट पारेको छ । तथापि जुन हदसम्म सरकारले यो बिचौलिया र दलाल प्रवृत्तिको विरुद्ध कदम चाल्नेछ त्यसमा हाम्रो साथ, समर्थन रहनेछ । तर राजनीतिक जोडघटाउ र प्रतिशोधमा यसलाई उपयोग वा सीमित गरियो भने त्यो दुःखद र घातक हुनेछ ।
