काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपरक र साहसिक रिपोर्टिङको अपेक्षा गरेको बताएका छन् । पत्रकार पक्राउको भोलिपल्ट शनिबार सामाजिक संजालमार्फत आईजीपी कार्कीले समाचार संकलन तथा सम्प्रेषणका क्रममा कुनै पनि प्रकारको अवरोध हुन नदिन नेपाल प्रहरी प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् ।
समाचारको विषयलाई लिएर शुक्रबार प्रहरीले पत्रकारहरु विश्वमणि सुवेदी, धिरज बस्नेतलगायतलाई पक्राउ गरेको थियो । तर सर्वत्र विरोध भएपछि केही घण्टामा रिहा गरेको थियो ।
महानिरीक्षक कार्कीले विपद्को असर कम गर्न सबै नागरिक, सञ्चारकर्मी र सरोकारवाला निकायलाई अभूतपूर्व सहकार्यका लागि आह्वान गरेका छन् । सम्भावित वर्षा, हावाहुरी तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद्को जोखिम न्यूनीकरणका लागि सबै पक्षसँग सहकार्य गर्न आग्रह गरेका छन् ।
उनले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै नेपाल प्रहरी आफ्नो जिम्मेवारी पूरा गर्न सधैँ सक्रिय रहने बताएका छन् । साथै, उनले विपद्को असर कम गर्न सबै नागरिक, सञ्चारकर्मी र सरोकारवाला निकायलाई अभूतपूर्व सहकार्यका लागि आह्वान गरेका छन् ।
