काठमाडौं । समाचार कक्षबाटै पक्राउ परेका सबै पत्रकार रिहा भएका छन् । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार राति सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिएका हुन् ।
शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका प्रधान सम्पादक धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।
पत्रकार पक्राउको घटनापछि चौतर्फी विरोध भएको थियो । यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पक्राउ परेका सबै पत्रकारलाई रिहा गर्न निर्देशन दिएका थिए ।
सञ्चारमन्त्री तिमल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।”
