त्रिभुवन विमानस्थलबाट एकवर्षमा १३ लाख भन्दा बढीले लिए सेवा

काठमाडौं ।  विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक र यात्रुलाई यातायात सेवा प्रदान गरेको जानकारी दिएको छ ।

लिमिटेडले नेपाल भ्रमणमा आउने विदेशी तथा आन्तरिक पर्यटक तथा हवाई यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रारम्भिक गन्तव्यसम्म यातायात सेवा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका अध्यक्ष पुरुषोत्तम सिम्खडाले आन्तरिक तथा बाह्य पर्यटक तथा हवाई यात्रुलाई लक्षित गरी कम्पनीले सहज र सुरक्षित रुपमा दिवा तथा रात्रिकालीन यातायात सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।

उनले दैनिक झन्डै चार हजारभन्दा बढी यात्रुलाई सेवा प्रदान गर्दै आएको बताए । हाल उक्त कम्पनीले २०८ पर्यटकीय सवारी साधनमार्फत पर्यटकलाई यातायात सेवा प्रदान गर्दै आएको छ ।

नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा पर्यटक यातायात सेवाको महत्त्वपूर्ण योगदान रही आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने पर्यटकलाई व्यवस्थित यातायात सेवा उपलब्ध गराउँदा उनीहरूको नेपाल बसाइ थप सहज र सुखद बन्न सहयोग पुग्ने अध्यक्ष सिम्खडाले बताए ।

पर्यटकको बढ्दो आवागमनसँगै यातायात सेवालाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन कम्पनीले निरन्तर रुपमा काम गर्दै आएको उनको भनाइ छ ।

पछिल्लो समय भने निजी नम्बर प्लेटका सवारीसाधनले गैरकानुनी रुपमा भाडामा मान्छे बोक्दा व्यवसायी थप समस्यामा परेको उनले बताए । विसं २०६७ मा स्थापना भएको उक्त कम्पनीले हाल ४५० भन्दाबढी स्वरोजगार चालक तथा कर्मचारीलाई रोजगारी प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *