काठमाडौँ । सन् २०१८ देखि निरन्तर रूपमा दशैँ–तिहारको अवसरमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहीन व्यक्तिहरूलाई सहयोग गर्दै आएको शेन्पेन नेपालले यस वर्ष पनि सहयोग गरेको छ।
मलेसियास्थित कोङ लेक चाई परिवारको सहयोग तथा शेन्पेन नेपालको आयोजनामा बुधबार काठमाडौँस्थित का–निङ शेड्रुब लिङ गुम्बा (सेतो गुम्बा) मा आयोजित कार्यक्रममा ४९५ जना दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिलाई खाद्यान्न तथा नगद सहयोग प्रदान गरिएको हो।
कार्यक्रममा प्रत्येकलाई एक–एक बोरा चामल र जनही तीन हजार रुपैयाँ नगद वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन शेन्पेन नेपालका संस्थाप छोकी न्यिमा रिन्पोछेले गरेका थिए । उनले सहभागीहरूलाई रक्सी, सुर्तीजन्य तथा अन्य मादक पदार्थको सेवन नगर्न विशेष आग्रह गर्दै स्वस्थ र अनुशासित जीवनशैली अपनाउन प्रेरणादायी सल्लाह तथा सुझाव दिएका थिए ।
उनको प्रवचनलाई सहभागीहरूले ताली बजाउँदै हर्षोल्लासका साथ स्वागत गरेका थिए। सहभागीहरूको सकारात्मक प्रतिक्रियाबाट गुरुजीसमेत अत्यन्तै खुसी भएको आयोजकले जनाएको छ।
सन् २०१८ देखि निरन्तर सञ्चालन हुँदै आएको यस कार्यक्रममार्फत अपाङ्गता भएका तथा दृष्टिविहीन व्यक्तिहरूलाई चाडपर्वका अवसरमा सहयोग पुर्याउँदै आएको छ। आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यलाई निरन्तरता दिने आयोजकले जनाएको छ।

