वैकल्पिक मार्ग खुलेसँगै पुनः सञ्चालनमा आयो लाङटाङ पदमार्ग

रसुवा । भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको विश्वप्रसिद्ध लाङटाङ उपत्यका पदमार्ग वैकल्पिक बाटो तय भएसँगै पुनः सञ्चालनमा आएको छ ।

बाढीले पासाङ ल्हामु राजमार्ग र स्याफ्रुबेँसी क्षेत्रका पूर्वाधारमा क्षति पुर्‍याएपछि पदमार्ग अवरुद्ध बनेको थियो । पदयात्रीको सुरक्षालाई ध्यानमा राख्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र स्थानीय तहको सक्रियतामा बाढी प्रभावित क्षेत्रलाई छल्ने गरी वैकल्पिक मार्ग तयार पारिएको हो ।

हाल पर्यटकले जिल्ला सदरमुकाम धुन्चेबाट ठूलो भार्खु, ब्राबल, ठूलो स्याफ्रु हुँदै बम्बो, लामा होटल र लाङटाङ गाउँसम्म पुग्न सक्ने व्यवस्था मिलाइएको छ । पदमार्ग पुनः सञ्चालनमा आएसँगै स्थानीयवासी खुसी भएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष डिण्डु ज्याङ्बा तामाङले विपत्तिका कारण बाटोघाटोमा समस्या आए पनि हाल सुरक्षित वैकल्पक मार्ग तयार गरिएको बताए ।

उनले लाङटाङ क्षेत्रका चियाघर, होटल तथा स्थानीय व्यवसायी पर्यटकको स्वागतका लागि तयार रहेको उल्लेख गर्दै पदयात्रीलाई ढुक्क भएर आउन आग्रह गरे ।

प्राकृतिक विपत्तिपछि तङ्ग्रिन खोजिरहेको लाङटाङको अर्थतन्त्रलाई गति दिन र प्रभावित तामाङ समुदायको आर्थिक पुनरुत्थानका लागि आन्तरिक तथा बाह्य पर्यटकको आगमन महत्त्वपूर्ण हुने वडाध्यक्ष तामाङको भनाइ छ ।

बाढीले स्थानीय पर्यटन व्यवसाय र जीविकोपार्जनमा ठूलो असर पुर्‍याए पनि पदमार्ग पुनः सञ्चालनमा आएसँगै स्थानीय चियाघर सञ्चालक, पथप्रदर्शक र भरियामा उत्साह थपिएको छ ।

हिमाल आरोहण तथा पदयात्राको सिजनमा सुरक्षित यात्रा गर्दै स्थानीय समुदायको आर्थिक पुनर्निर्माणमा योगदान पुर्‍याउन सरोकारवालाले पदयात्रीलाई लाङटाङ भ्रमणका लागि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *