-नारायण गाउँले ।
आदरणीय नयाँजनहरू, सत्ता र सार्वजनिक पदमा बस्ने व्यक्तिहरूको अभिव्यक्ति, आचरण र नैतिकतामाथि प्रश्न र टिप्पणी गर्ने हक हरेक नागरिकसँग हुन्छ ।स्तुतिमात्रै गर्न मिल्ने, आलोचना गर्न नमिल्ने भन्ने हुँदैन । राष्ट्रवादका सन्दर्भमा देशको अर्थमन्त्रीले दिएको अभिव्यक्ति कूटनैतिक सीमाभन्दा बाहिरको थियो । आजभन्दा पहिलेको राष्ट्रवाद भारतविरोधी भावनामा निर्भर रहेको थियो भन्ने दाबीलाई पुष्टि गर्ने खालको थियो । त्यसको अर्थ केही निश्चित दल या व्यक्तिमात्रै नभई तपाईंका बुबा या हजुरबुबाको राष्ट्रवाद पनि भारतविरोधी थियो भन्ने लाग्छ । तपाईं हामी बाँचेको सिङ्गो पुस्ताको राष्ट्रवादमाथि पनि प्रश्न उठ्न सक्छ । यसको गम्भीरता बुझेर स्वयं अर्थमन्त्रीले नम्र सफाइ दिनुपर्ने हो ! आफ्नो आशय प्रष्ट गर्दै त्यसले कसैको भावनामा चोट पुगेको भए माफी माग्नु असल नेताको गुण र कर्तव्य हुन्छ ।
हामी नयाँ हौँ, अरूभन्दा राम्रा हौँ, र फरक हौँ भन्ने दाबी सबैले गर्छन् । यो सामान्य र राजनीतिमा सबैले गर्ने विषय हो । अलिकति नयाँ भनेर नै जनताले भोट दिने हुन् । नयाँ ढङ्गबाट, नयाँ भाष्य र नयाँ सोचबाट अब द्विपक्षीय सम्बन्ध अगाडि बढ्न पर्छ भन्नुसम्म पनि गलत होइन । समग्रमा वाग्लेको सङ्केत त्यही थियो भन्ने मलाई लागेको हो । अब पुराना भाष्य र बहस छोडेर समृद्धि, सहकार्य र विकासको नयाँ मार्ग सुरु गर्नुपर्छ भन्ने आशय, मैले बुझेको आशय हो । तर राष्ट्रवाद जोडिएको त्यो अभिव्यक्तिले अमुक दलमात्रै नभएर स्वयं वाग्ले बाँचेको पुस्तालाई नै अपमान गर्नसक्छ भन्ने हेक्का बोल्दै गर्दा उनलाई नभएको हो ।
लिखित कार्यपत्र प्रस्तुत गर्दा या औपचारिक मन्तव्यमा त्यस्तो अभिव्यक्ति आएको भए त्यो पक्कै सचेत, निकै गम्भीर र निन्दनीय मानिने थियो । किन्तु परन्तुविना नै त्यसको विरोध गरिने थियो । त्यस्तो हुँदा आशयको निम्ति शङ्काको सुविधा रहन्नथ्यो ।तर त्यो संवादको बीचमा, प्रसङ्गको रूपमा स्वःस्फूर्त आएको अभिव्यक्ति भएकाले मेरो आँखाले त्यसलाई दुराषयरहित सामान्य कूटनैतिक कमजोरीमात्रै देखेको हो ।
तर जनताको करबाट पालिने व्यक्तिको त्यो स्तरको गम्भीर अभिव्यक्तिलाई सबैले सहज रूपमा लिनुपर्छ भन्ने पनि हुँदैन । त्यो अभिव्यक्ति कूटनैतिक स्तरको थिएन भन्न ठूलै विद्वान् पनि हुन पर्दैन । आफ्नो पुस्ता, आफ्नो राष्ट्रवाद र आफ्नो अस्मितामाथि प्रश्न उठेको जस्तो अनुभूति भयो भने व्यक्तिले प्रतिक्रिया त जनाई हाल्छ । राजेश हमालले गरेको त्यत्ति हो । के एउटा नागरिकले प्रश्न गर्नै नपाउने युगको कल्पना गरेका हौँ हामीले ?
उनले तपाईंलाई प्रश्न गरेको, तपाईंको स्वास्थ्यबारे टिप्पणी गरेको होइन, अन्तर्राष्ट्रिय मञ्चमा देशका शासकको अभिव्यक्तिमाथि प्रतिक्रिया दिएको हो । तपाईं शासक होइन । शासक हरेक नागरिकको हो, तपाईंको मात्रै होइन । जबाफ दिन पर्ने देखिए स्वर्णिम आफैले दिने हो ।
लोकतन्त्रमा पक्ष विपक्ष हुन्छ । समर्थन र आलोचना हुन्छ । बहस हुन्छ । शासकका क्रियामाथि प्रतिक्रिया हुन्छ । एउटा सजीव समाज र स्वस्थ प्रणालीका लागि स्तुतिमात्रै होइन, आलोचना पनि अत्यावश्यक हुन्छ । शासकको आलोचना हिजो पनि हुन्थ्यो, भोलि पनि हुनेछ । सत्ता सधैँ रहन्न तर नागरिक त रहन्छ ।
सहिष्णुता कुनै पनि सभ्य समाजको पहिलो आधारस्तम्भ हो । यदि आफूलाई अन्यभन्दा नयाँ, अन्यभन्दा फरक र अन्यभन्दा अब्बल प्रमाणित गर्ने हो भने अन्यभन्दा एक कदम बढी सहिष्णु देखिनु, आलोचनालाई सकारात्मक रूपमा लिनु र हरेक पल आफूलाई सुधार गर्दै अघि बढ्नु आवश्यक हुन्छ ।
तपाईंलाई लागेको होला, राजेश हमाललाई गाली गरेर, धुवाँदार ट्रोल गरेर स्वर्णिम या सरकारलाई टेवा पुग्छ । तर त्यस्तो कामले सरकारलाई उल्टो असहिष्णु, अनुदार, अलोकतान्त्रिक र प्रतिक्रियावादी देखाउन मद्दत गर्छ । आमनागरिकको सरकार नभएर एउटा ग्याङ्को सरकार हो भन्ने छाप सिर्जना गर्छ । तपाईंको उद्देश्य त्यही हो भनेचाहिँ ठीक छ ।
