काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा आज दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १२:३० बजे शुरु हुनेछ ।
आज दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुर आज जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्न चाहन्छ । यता पहिलो खेल खेल्न लागेको काठमाडौं जितसहित प्रतियोगिताको शुरुवात गर्ने लक्ष्यमा रहेको छ ।
आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स खेल्नेछन् । खेल बेलुकी ५ बजे शुरू हुनेछ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको कर्णाली आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ भने विराटनगर पहिलो जितको खोजीमा हुनेछ । विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग ८ विकेटले पराजित भएको थियो ।
