सत्ता नै सबैथोक हो भन्ने मेसिनजस्तो विगतको सोचलाई सच्याएर अघि बढ्छौँः सभापति थापा

पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पार्टीका प्रदेश र जिल्ला अधिवेशनको मिति निर्धारण गर्ने बताएका छन् । यसका लागि केन्द्रीय समिति बैठकमा छलफल गरेर आवश्यक निर्णय लिइने उनले बताए ।

मंगलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा सभापति थापाले पार्टीको संगठनात्मक गतिविधि र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउनुपर्ने बताए ।

उनले प्रदेश र जिल्ला अधिवेशनको मिति तय गर्दा स्थानीय तहको निर्वाचनलाई प्राथमिकतामा राखिने स्पष्ट पारे । उनले भने, ‘केन्द्रीय समितिको बैठक राखेर साथीहरूसँग सल्लाह गर्छु। स्थानीय चुनाव पनि आउँदै छ, त्यसलाई समेत ध्यानमा राखेर तिथिमिति तय गर्छौँ ।’

सभापति थापाले पार्टीको आन्तरिक निर्वाचनमा विजयी र पराजित दुवै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । निर्वाचनमा पराजित हुँदैमा योग्य नेताहरूलाई जिम्मेवारीबाट बाहिर राख्न नहुने उनको भनाइ छ।

‘पार्टीभित्र सबैले आफ्नो भूमिका र स्थान पाउनुपर्छ। जित्नेले हस्तिनापुर पाएको जस्तो र हार्नेचाहिँ गयो भन्ने जस्तो होइन,’ उनले भने, ‘प्रतिस्पर्धाका कारण जिम्मेवारीबाट बाहिरिएका योग्य साथीहरूलाई समेत समेटेर अघि बढ्नुपर्नेछ।’
उनले पार्टीभित्रको प्रतिस्पर्धालाई आमनिर्वाचनको जस्तो जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने प्रक्रियाका रूपमा लिन नहुने बताए ।

नेपालको इतिहासमा ठूलो सङ्ख्यामा प्रतिनिधि एकै ठाउँमा भेला भएर सम्पन्न भएको पहिलो अधिवेशन भएको दाबी गर्दै सभापति थापाले व्यवस्थापन चुनौतीपूर्ण रहे पनि सबैको सहयोगमा अधिवेशन सफल भएको बताए।

उनले भने, ‘नेपाल अहिले इतिहासमै पहिलो पटक सबैभन्दा बढी युवा भएको तन्नेरी अवस्थामा छ । अबको २७–२८ वर्षपछि नेपाल पनि जापानजस्तै बुढ्यौलीतर्फ जान्छ । हामीसँग पुरानो पुस्ताको ज्ञान र अनुभव छ । साथै नयाँ पुस्ताको ऊर्जा छ । अनुभव र ऊर्जाको यो सही संयोजनलाई हामीले व्यवस्थापन गर्न सक्नुपर्छ ।’

पछिल्ला निर्वाचनहरूमा पार्टीसँग टाढिएका करिब २ लाखभन्दा बढी परम्परागत कांग्रेसी मतदाता र परिवारसँग संवाद थाल्न उनले प्रस्ताव गरे । मंसिर महिनाभर देशभरका वडा र टोलमा यस्तो अभियान चलाउनुपर्ने उनको आग्रह छ ।

उनले विगतको समीक्षा गर्दै उनले सुशासन र शासकीय कमजोरीलाई कांग्रेसले स्वीकार्नुपर्ने बताए । उनले भने, ‘सत्ता नै सबैथोक हो र सत्ताकै लागि जे पनि सम्झौता गर्नुपर्छ भन्ने मेसिनजस्तो सोच हाम्रो कमजोरी थियो । हामी कमजोरीबाट भाग्दैनौँ, स्वीकार्छौँ । अब हामी डेमोक्रेसी पनि जोगाउँछौँ र डेलिभरी पनि दिन्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *