काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा अवधि काम गर्न दिनुपर्ने बताएका छन् । सामाजिक संजालमार्फत भट्टराईले निर्वाचन सम्पन्न भएको केही दिनदेखि नै सरकार परिवर्तन गर्ने वा ढाल्ने चर्चा चल्नु देशका लागि विडम्बनापूर्ण र चिन्ताजनक भएको बताएका हुन् ।
प्रमुख राष्ट्रिय चाडपर्व सकिएलगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने र सरकार परिवर्तन गर्ने चर्चा सुरु हुनुलाई उनले दुःखद् भएको बताएका छन्।
बहुदलीय लोकतन्त्रमा सत्तारुढ र प्रतिपक्षी दलबीच निरन्तर प्रतिस्पर्धा र सहकार्य हुनुका साथै सदन र सडकमा आलोचना तथा प्रत्यालोचना हुनु स्वाभाविक र आवश्यक रहेको भट्टराईले उल्लेख गरेका छन्।
तर, निर्वाचनपछि तत्कालै सरकार फेर्ने वा ढाल्ने प्रयासले देशलाई अनिश्चितताको भुमरीमा फसाउने, अर्थतन्त्रलाई कमजोर बनाउने र युवालाई विदेशिन बाध्य पार्ने उनको टिप्पणी छ। यस्तो प्रवृत्तिले देशलाई बढ्दो भूराजनीतिक जोखिममा समेत धकेल्न सक्ने उनले बताएका छन्।
भट्टराईले देश र जनताप्रति जिम्मेवार सबै नागरिकलाई गम्भीर हुन आग्रह गर्दै सरकार तथा सत्ताका विभिन्न अंगमा रहेकाहरूलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिएका छन्।
विशेषगरी विपत्तिमा परेका, ऐतिहासिक रूपमा वञ्चितीकरणमा परेका र गरिब तथा निमुखा जनताको आवाज सत्तामा रहेकाहरूले सुन्नुपर्ने उनको भनाइ छ। जनताको आवाज नसुन्ने सत्तासीनहरूलाई विधिसम्मत ढंगले दण्डित गर्नुपर्ने वा पदबाट हटाउनुपर्ने उनले बताएका छन्।
‘निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिऊँ,’ भट्टराईले भनेका छन्, ‘काम नगरे वा बिगारे अर्को चुनावबाट बिदा गरौँ।’
