नयाँदिल्ली । भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले आपराधिक मानहानि मुद्दामा सफाइ पाएका छन् । भारतको उत्तर प्रदेशस्थित सुल्तानपुरको विशेष गान्धीलाई सन् २०१८ मा गृहमन्त्री अमित शाहविरुद्ध दिएको अभिव्यक्तिसम्बन्धी आपराधिक मानहानि मुद्दामा सोमबार सफाइ दिएको हो ।
प्रमाणको अभाव रहेको भन्दै अदालतले गान्धीलाई सफाइ दिएको हो । फैसलाको सुनुवाइका क्रममा गान्धी स्वयं अदालतमा उपस्थित भएका थिए । अदालतको निर्णयपछि उनका समर्थकहरूले खुसी व्यक्त गर्दै फैसलाको स्वागत गरेका छन् ।
भाजपा नेता तथा सुल्तानपुर जिल्ला सहकारी बैंकका पूर्वअध्यक्ष विजय मिश्रले गान्धीविरुद्ध मुद्दा दायर गरेका थिए । सुल्तानपुरको कोतवाली देहात प्रहरी क्षेत्रअन्तर्गत हनुमानगन्ज निवासी मिश्रले सन् २०१८ अगस्ट ४ मा उजुरी दिएका थिए ।
सन् २०१८ मा कर्नाटक विधानसभा निर्वाचनअघि बेङ्गलुरुमा आयोजित चुनावी सभाका क्रममा गान्धीले अमित शाहबारे दिएको अभिव्यक्तिलाई लिएर उजुरी परेको थियो ।अदालतको फैसलापछि भारतीय कांग्रेसले स्वागत गर्दै ‘सत्यको सधैँ विजय हुन्छ’ भन्ने प्रतिक्रिया दिएको छ ।
