काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले नेपाल–भारत सम्बन्धका विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत थापाले अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भएको टिप्पणी गरेका हुन् । उनले विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्नु राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने गैरजिम्मेवार तर्क भएको बताएका छन्।
नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नभएको उल्लेख गर्दै थापाले राष्ट्रियता देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित रहेको बताएका छन्।
नेपालले भारतसँग समानता र सम्मानमा आधारित सम्बन्ध चाहेको उल्लेख गर्दै उनले सीमा अतिक्रमण, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको बताएका छन्।
केही अपवादमूलक धारणालाई आधार बनाएर सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचित रूपमा व्याख्या गर्नु पूर्वाग्रह भएको थापाको भनाइ छ। उनले वाग्लेको अभिव्यक्ति विगतमा अघि सारिएको भनिएको ‘मुनरो डक्ट्रिन’ कै उपज हो कि भन्दै प्रश्नसमेत गरेका छन्।
उनले भनेका छन्, ‘के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन् ? वाग्लेको यो अभिव्यक्ति कतै विगतमा उहाँले अघि सारेको आत्मघाती ‘मुनरो डक्ट्रिन’ कै उपज त होइन ? जिम्मेवार ओहोदामा बसेका व्यक्तिले यसको जवाफ दिनैपर्छ । के सरकारको धारणा यही हो ?’
