प्रज्जवल थापा । केलेची इहेनाचोले ह्याट्रिक गरेको खेलमा लेस्चर सिटीले फराकिलो जित निकालेको छ । गएराति इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा लेस्चर सिटीले सेफिल्ड युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदान किङ पावर रंगशालामा भएको खेलमा लेस्चरलाई जित दिलाउन केलेची इहेनाचोले ह्याट्रिक गर्दा एयोजे पेरेजले एक गोल गरे । लेस्चरले एक गोल भने उपहार पाएको थियो । पहिलो हाफको ३९ औं मिनेटमा जेमी भार्डीको पासमा इहेनाचोले गोल गर्दै लेस्चर सिटीलाई खेलमा अगाडि बढाएका थिए ।

६४ औं मिनेटमा अल्ब्रिघटनको पासमा पेरेजले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ६९ औं मिनेटमा भार्डीको पासमा इहेनाचोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई सहज जिततर्फ अगाडि बढाएका थिए । ७८ औं मिनेटमा विलफ्रेड निडिडिको पासमा इहेनाचोले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । यस्तै ८० औं मिनेटमा एथान एम्पाडुले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि लेस्चर सिटी ५-० गोलले विजयी भएको हो ।
जितसँगै लेस्चर सिटी २९ खेलमा ५६ अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ ।
