काठमाडाैँ । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-२ स्थित फेरा गाउँको प्रवेशद्वारमा नवनिर्मित महापवित्र ‘ल्हाबब छोर्तेन’ (देव अवतरण चैत्य)को विधिवत् रूपमा प्राण प्रतिष्ठा (राब्ने) पूजा सम्पन्न गरिएको छ ।
परम श्रद्धेय खेन् रिन्पोछे साङ्ये राङज्युङबाट शुक्रबार बौद्ध धर्म परम्पराअनुसार उक्त विशेष अनुष्ठान सम्पन्न गरिएको हो । प्राण प्रतिष्ठा कार्यक्रममा खेन् रिन्पोछे साङ्ये राङज्युङका साथै नेपाल बौद्ध ञिङमा संघका अध्यक्ष श्रद्धेय सेङटाक टुल्कु रिन्पोछे, खेन्पो, लोपोन तथा लामा गुरुहरूको उपस्थितिमा विशेष पाठपूजा गरिएको थियो ।
चैत्यको प्राणप्रतिष्ठा पश्चात् प्रमुख अतिथि रिन्पोछे साङ्ये राङज्युङले बौद्ध धर्ममा चैत्यको धार्मिक तथा आध्यात्मिक महत्त्व, दर्शन एवम् परिक्रमा गर्दा प्राप्त हुने पुण्यका विषयमा विशेष प्रवचन दिएका थिए ।
करिब १ करोड २९ लाख ५१ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त पवित्र चैत्य सोलुदुधकुण्ड नगरपालिका–२ बेनी निवासी, हाल संयुक्त राज्य अमेरिकामा बस्दै आएका ग्युर्मी शेर्पा र उनकी धर्मपत्नी आङ सानी शेर्पाको व्यक्तिगत लगानीमा निर्माण गरिएको हो ।
चैत्य निर्माणको क्रममा देश-विदेशमा रहने नातेदार तथा श्रद्धालु भक्तजनहरूबाट करिब ५१ लाख ६४ हजार ९५१ रुपैयाँ नगद दान प्राप्त भएको चैत्य निर्माता ग्युर्मी शेर्पाले जानकारी दिए ।
उनकाअनुसार चैत्यको गजुर अमेरिका निवासी बहिनी कान्छी शेर्पाको परिवारबाट, चैत्यको मध्यभागमा रहेको बुद्धको ठूलो प्रतिमा काकी छिरिङमा शेर्पाको परिवारबाट र चैत्यवरिपरिका ६० वटा हाते मणि दाकी शेर्पाको परिवारबाट चढाइएको हो ।
निर्माण कार्यमा सहयोग पुर्याउनुहुने आफन्तजन, सहयोगी दाता र गाउँलेहरूलाई धन्यवाद ज्ञापन गर्दै शेर्पाले आफ्नै जन्मभूमिमा यस्तो पवित्र चैत्य निर्माण गर्न पाएकोमा खुशी व्यक्त गरे ।
साथै, देश-विदेशका दर्शनार्थीहरूले चैत्यको दर्शन र परिक्रमा गरी पुण्य लाभ आर्जन गर्ने विश्वास उनले व्यक्त गरे ।
प्राण प्रतिष्ठा एवम् पूजापाठ सम्पन्न भएपश्चात् केम्जे युथ क्लब (फेरा) का सदस्यहरू तथा नमोबुद्ध आधारभूत विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरूले स्थानीय परम्परागत शेर्पा नृत्य (श्याब्रु) तथा विभिन्न नेपाली लोकनृत्यहरू प्रस्तुत गरी कार्यक्रमलाई भव्य बनाएका थिए ।
उक्त ऐतिहासिक समारोहमा स्थानीय जनप्रतिनिधि, फेरा गाउँ तथा छिमेकी बस्तीका बासिन्दाका साथै देश-विदेशबाट आएका ठूलो सङ्ख्याका श्रद्धालुहरूको उपस्थिति रहेको थियो ।
चोर्तेन डाँडामा निर्मित साे चैत्यले हिमाली क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा स्थानीयवासीले गरेका छन् ।
