काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी विमल घर्तीमगरले आफ्नो फुटबल करियरबाट सन्यासको घोषणा गरेका छन् । २८ वर्षीय विमलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो फुटबल यात्रा यहीँ टुंग्याएको बताएका हुन् ।
बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा काठमाडौं हुँदै राष्ट्रिय टोलीसम्म पुगेको स्मरण गर्दै विमलले आफ्नो यात्रा लामो र कठिन रहेको उल्लेख गरेका छन् ।
फुटबलप्रतिको माया र शुभचिन्तकहरूको साथ तथा समर्थनकै कारण आफ्नो यात्रा सम्भव भएको उल्लेख गर्दै विमलले सबैप्रति आभार व्यक्त गरेका छन् । करियर टुंग्याउने निर्णय लिँदा आफू निकै भावुक भएको पनि उनले बताएका छन् ।
नेपाली फुटबलमा प्रतिभाशाली खेलाडीका रूपमा परिचित विमलले राष्ट्रिय टोलीबाट खेल्दै आफ्नो पहिचान बनाएका थिए । राष्ट्रिय टोलीबाट उनले ९ गोल गरेका थिए ।
