काठमाडौं । चालु आर्थिक वर्षको सुरुवातसँगै नेपाल भित्रिने रेमिट्यान्समा वृद्धि देखिएको छ । आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा विदेशमा रहेका नेपालीले ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ स्वदेश पठाएका छन् ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स वृद्धिदर ३३.१ प्रतिशत थियो ।
भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो साउन महिनामा प्राप्त २ खर्ब १५ अर्ब रुपैयाँभन्दा ६ अर्ब रुपैयाँ बढी हो । यसले लगातार दुई महिनासम्म रेमिट्यान्स आप्रवाह उच्च रहेको देखाउँछ ।
अमेरिकी डलरमा गणना गर्दा पनि रेमिट्यान्स आप्रवाह बढेको छ । भदौसम्म २ अर्ब ८५ करोड अमेरिकी डलर बराबरको रकम नेपाल भित्रिएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १३.५ प्रतिशत बढी हो । अघिल्लो वर्ष डलरमा रेमिट्यान्स वृद्धि २७.६ प्रतिशत थियो ।
यस अवधिमा खुद द्वितीय आय पनि बढेर ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ थियो ।
रेमिट्यान्स बढे पनि वैदेशिक रोजगारीका लागि पहिलोपटक अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने घटेको छ । चालु आर्थिक वर्षको भदौसम्म ७८ हजार ३२० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । गत वर्षको सोही अवधिमा यो संख्या ९० हजार १९८ थियो ।
तर, पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ५२ हजार १६३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४५ हजार ८८४ थियो ।

