काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिस र छनोट प्रक्रियामाथि प्रश्न उठाएका छन् । संसदीय सुनुवाइ समितिबाट दुई जना प्रस्तावित राजदूतको नाम अस्वीकृत भएपछि उनले सरकारको योग्यतामुखी छनोटको दाबीमाथि प्रश्न गरेका हुन्।
रिजालले खुला आवेदन आह्वान गरेर योग्य व्यक्तिलाई पहिलोपटक राजदूत बनाउन लागेको भन्दै सरकारले प्रचार गरे पनि सत्तारुढ दलकै सांसदहरूले संसदीय सुनुवाइका क्रममा प्रस्तावित व्यक्तिहरूलाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘खुल्ला आवेदन आह्वान गरेको’, ’पहिलो पटक योग्यलाई बनाउन लागेको’ जस्ता सस्ता प्रचारबाजी गराउँदै सरकारले कस्ता व्यक्तिलाई राजदूतमा सिफारिश गरेको रहेछ ? जसलाई स्वयम् सत्तारुढ पार्टीकै सांसदहरुले संसदीय सुुनुवाइ समितिमा स्वीकार गर्न सकेनन् । दुई जना अस्वीकृत भएका छन् अर्का एकजना अस्वीकार गर्नैपर्नेलाई संसद्का मुख्य पदाधिकारीको दवावमा ’होल्ड’मा राखिएको छ ।’
समितिबाट दुई जना प्रस्तावित राजदूत अस्वीकृत भएका छन् भने अस्वीकार गर्नुपर्ने अर्का एक जनाको नाम निर्णय नगरी रोकिएको छ।
रिजालले यसअघि सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेर औचित्य पुष्टि गरेको संसदीय सुनुवाइ समितिले यसपटक पनि दुई जना प्रस्तावित राजदूतको नाम अस्वीकृत गरेर राम्रो काम गरेको बताएका छन्।
उनले भनेका छन्, ‘यसअघि एकपटक सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेर औचित्य देखाएको संसदीय समितिले यसपटक दुई जना बद्नाम, अयोग्य र अनैतिक व्यक्तिलाई अस्वीकृत गरेर राम्रो काम गरेको छ । साथै प्रश्न उठ्छ– त्यस्ता व्यक्तिहरुलाई कुन योग्यता छनोटका आधारमा परराष्ट्र मन्त्रालयलयले ४ हजारमध्येबाट छानेर मन्त्रिपरिषद्मा प्रस्ताव गरेको रहेछ ? अनि मन्त्रिपरिषद्ले कुन ‘बायोडाटा’ हेरेर निर्णय गरेको रहेछ ? देशभित्र त खरानीको थुप्रो लगाएकै थिए, साथीहरुले विदेशमा पनि देशको छविलाई खरानी नै बनाउने भए ।’
उनले चार हजार आवेदकमध्येबाट प्रस्तावित राजदूतहरू छनोट गर्दा परराष्ट्र मन्त्रालयले कुन योग्यता र आधार अपनाएको थियो भन्ने प्रश्नसमेत उठाएका छन्। मन्त्रिपरिषद्ले उनीहरूको बायोडाटा र योग्यता केका आधारमा मूल्याङ्कन गरेर निर्णय गरेको हो भन्ने विषयमा पनि उनले जवाफ मागेका छन्।
रिजालले सरकारको छनोट प्रक्रियामाथि प्रश्न उठाउँदै प्रस्तावित व्यक्तिहरूका कारण विदेशमा समेत नेपालको छवि बिग्रन सक्ने टिप्पणी गरेका छन्।
