वासिङ्टन । अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई सहयोग गर्न अर्बपति उद्यमी एलन मस्कले ३६ करोड ६० लाख अमेरिकी डलर खर्च गरेको भन्दै अमेरिकी राजनीतिमा धनाढ्यहरूको बढ्दो प्रभावको आलोचना गरेका छन् । उनले मस्कको सम्पत्ति उल्लेख्य रूपमा बढे पनि राजनीतिक खर्च नरोकिएको भन्दै ‘मस्कलाई रोकौँ, धनाढ्यहरूको राजनीतिक वर्चस्व अन्त्य गरौँ’ भनेका छन् ।
सामाजिक सञ्जाल एक्समा स्यान्डर्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्वाचित गराउन मस्कले दुई करोड ९० लाख अमेरिकी डलर खर्च गरेको र त्यसपछि उहाँको सम्पत्ति ६९६ अर्ब अमेरिकी डलरले बढेको दाबी गरेका छन् । मस्क विश्वकै पहिलो खर्बपति बने पनि उनले अमेरिकी संसद्मा रिपब्लिकनको नियन्त्रण कायम राख्न थप रकम खर्च गरिरहेको स्यान्डर्सको भनाइ छ ।
‘द न्युयोर्क टाइम्स’ का अनुसार मस्कले यस वर्ष जुलाईदेखि मात्रै २७ करोड ६० लाख अमेरिकी डलर खर्च गरेका छन् । त्यसमध्ये रिपब्लिकन सिनेट उम्मेदवारलाई समर्थन गर्ने राजनीतिक कार्यसमिति (सुपर पीएसी) का लागि १५ करोड ८० लाख अमेरिकी डलर खर्च गरिएको छ । यसले उनलाई यस वर्षको सबैभन्दा ठूलो एकल राजनीतिक दाता बनाएको समाचारमा उल्लेख छ । अमेरिका पीएसीका प्रवक्ता एन्ड्र्यु रोमियोले उक्त सहयोगले रिपब्लिकन पार्टीलाई आफ्नो सन्देश मतदातासम्म पु¥याउन मद्दत गरेको बताएका छन् ।
यसैबीच, मस्कले भारतमा आफ्नो कम्पनी स्टारलिङ्कको बजार प्रवेशमा केही शक्तिशाली व्यावसायिक समूहले अवरोध गरेको आरोप लगाएका छन् । तर, भारतको सञ्चार मन्त्रालयले भूउपग्रह सञ्चार सेवासम्बन्धी अनुमति प्रक्रिया निष्पक्ष र भेदभावरहित रहेको जनाएको छ । मन्त्रालयका अनुसार सम्बन्धित कम्पनीहरूको सुरक्षा मूल्याङ्कन पूरा भएपछि मात्र रेडियो स्पेक्ट्रम उपलब्ध गराइनेछ ।
भारतमा बजार प्रवेशमा अवरोध भएको मस्कको आरोप र अमेरिकामा रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्न उनले गरेको ठूलो राजनीतिक खर्चका सन्दर्भमा स्यान्डर्सले अर्बपतिहरूको सम्पत्ति र राजनीतिक प्रभावबीचको सम्बन्धमाथि प्रश्न उठाएका हुन् ।
