रुसको सैन्य उद्योगलाई लक्षित गर्दै ईयूको नयाँ प्रतिबन्ध

ब्रसेल्स । युरोपेली सङघ (ईयू)का विदेशमन्त्रीले रुसको सैन्य–औद्योगिक क्षेत्रलाई लक्षित गर्दै करिब एक हजार ६०० नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेका छन् । ईयूकी विदेश नीति प्रमुख काजा कालासले सोमबार उक्त जानकारी दिएकी हुन्।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै कालासले नयाँ प्रतिबन्ध सूचीमा समावेश गरिएका विषयमध्ये आधाभन्दा बढी रुसको ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादन शृङ्खलासँग सम्बन्धित रहेको बताइन्। रुस–युक्रेन युद्ध सुरु भएयता ईयूको प्रतिबन्ध सूचीमा गरिएको यो सबैभन्दा ठूलो विस्तार भएको पनि उनले उल्लेख गरिन्।

नयाँ प्रतिबन्धको उद्देश्य युक्रेनविरुद्ध प्रयोग गरिने हतियार उत्पादन गर्ने रुसको क्षमतालाई कमजोर बनाउनुका साथै हतियार उत्पादन प्रक्रिया कठिन, सुस्त र महँगो बनाउनु रहेको कालासले बताइन्।

लक्जमबर्गमा हुने ईयूको विदेश मामिला परिषद्को बैठकअघि बोल्दै उनले नयाँ प्रतिबन्धले युक्रेनका कब्जा गरिएका भू–भागमा रुसले गराएका भनिएका ‘नक्कली निर्वाचन’को विषयलाई समेत सम्बोधन गर्ने जानकारी दिइन्।

कालासले युद्ध अन्त्य गर्न रुसमाथि निरन्तर दबाब कायम राख्नुपर्ने ईयूको अडान दोहोर्‍याइन्। उनले रुसविरुद्धका प्रतिबन्धका विषयमा अमेरिकासँग थप समन्वय गर्न पनि आग्रह गरिन्। अमेरिका र ईयूबिचको सहकार्यले मस्कोमाथिको दबाब थप प्रभावकारी बनाउने उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *