काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत जारी खेलमा नेपालले क्यानडालाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । अल अमेराट क्रिकेट मैदानमा भएको खेलमा नेपालले क्यानडालाई २ सय ३६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनाएको हो । नेपालको लागि रोहित पौडेलले सतक पूरा गरे । उनले १ सय २७ बल खेल्दै ८ चौका र एक छक्काको मद्दतमा १ सय १ रन बनाएका हुन् । एकदिवसीयमा उनको यो तेस्रो सतक हो । यस्तै गुलसन झाले ३४ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४८ रन बनाउँदा बासिर अहमदले ३० र अर्जुन कुमालले २३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
क्यानडाको लागि अखिल कुमारले चार, सुख्जिन्दर सिंहले तीन र जाहिद शिर्जादले दुई विकेट लिए । अब क्यानडाले जवाफी ब्याटिङ गर्नेछ ।
