३ करोड ३८ लाखभन्दा बढीको अनलाइन सट्टेबाजी र क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौं । प्रहरीले ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने २२ वर्षीय बिक्की कुमार महतो रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २१ गते साँझ माइतीघरस्थित सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेको भेटिएपछि प्रहरीले महतोलाई नियन्त्रणमा लिएर सोधपुछ तथा जाँच गरेको थियो ।

अनुसन्धानका क्रममा उनले वानएक्स बेट एपमार्फत अनलाइन सट्टे गर्ने तथा गराउने गरेको खुलेको प्रहरीले जनाएको छ । साथै, उनले क्रिप्टोकरेन्सीको कारोबारसमेत गर्दै आएको पाइएको छ ।

प्रहरीका अनुसार महतोले हालसम्म ३ करोड ३८ लाख ८ हजार ३ सय ५० रुपैयाँ ९१ पैसाभन्दा बढीको कारोबार गरेको देखिएको छ ।

उनको साथबाट एक थान मोबाइल बरामद गरिएको छ । अभौतिक मुद्रा र सट्टेबाजीसम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *